तपाईँ सुन्दै हुनुहुन्छः

रासायनिक बिषादिमुक्त बस्ति बनाउदै

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ७ फिर्के सुकुम्वासी बस्तीका महिलाहरू अबको ५ वर्ष भित्रमा रासायनिक विषादी मुक्त बस्ती बनाउन लागि परेका छन् ।

विषादीले मानव स्वास्थ्यमा नराम्रो असर पार्दछ भन्ने कुरा थाहा पाएपछि उनीहरू रासायनिक विषादी मुक्त बस्ती बनाउन लागि परेका हुन् । स्थानीय संस्था दलित सचेतना समाजको सहजिकरणमा भएको जैविक विषादी निर्माण सम्बन्धीको तालिम लिए पछि उनीहरूले ५ वर्ष भित्रमा रासायनिक विषादी मुक्त बस्ती बनाई प्राङगारिक बस्ती बनाउन लागि परेका छन् । जसका लागि तीनजुरे महिला  समूह गठन गरेर जैविक विषादी र प्राङ्गारिक मल बनाउन थालेको समूहकी सदस्य विमला तामाङले बताउनुभयो ।

रासायनिक विषादी प्रयोग नगर्ने प्रतिबद्धता गरेका उनीहरूले गाउँघरमै पाउने धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्युकुमारी, सुर्ती, टिमुर, बोजो, तीतेपाती, असुरो र सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेको समूहकी अर्की सदस्य ईन्द्रमाया तामाङले बताउनुभयो । यस्तो विषादी बनाउन कम खर्च लाग्ने र तिनको प्रयोगबाट हानि नहुने बुझेपछि किसानले जैविक विषादीको प्रयोग बढाउने भएका छन्  । 

पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि किसानले पनि जैविक विषादी बनाएर प्रयोग गर्न थालेका हुन् । स्थानीय रक्सी बनाउने प्रविधिबाटै अथवा वाष्पीकरण विधिबाट जैविक विषादी बनाउने गरेको संस्थाका कोषाध्यक्ष गीता राईले बताउनुभयो ।

त्यस बस्तीका किसानले अहिले अदुवा, अकबरे, बन्दा, आलु, मटर, साग, लसुन लगायतका तरकारी र फलफूल बालीमा जैविक विषादीको प्रयोग गर्न थालेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग किराको निदान गर्ने गरेको स्थानीयवासी हेममाया तामाङले बताउनुभयो ।

तालिम लिई सकेपछि किसानले रासायनिक मल र विषादीको प्रयोगले उर्वर माटो मात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या निम्तिने गरेको बुझेपछि जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । रासायनिक मलको विकल्पमा किसानले कम्पोष्ट र प्राङ्गारिक मल बनाएर प्रयोग गर्न थालेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button