तपाईँ सुन्दै हुनुहुन्छः

‘पढ्दै कमाउँदै’ विद्यार्थी

बाँके । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा वडा नम्बर १३ भरैयामा रहेको श्री बाल शिक्षा माध्यमिक विद्यालय जहाँ विद्यार्थीहरू नियमित रुपमा पढ्छन् भने पढाईको अलवा उनीहरूले विभिन्न सिपहरू पनि सिकिरहेका छन् । विद्यालयले पनि पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ,जसले गर्दा विद्यार्थी अनि विद्यालयलाई थोरै भएपनि आर्थिक रुपमा सबल बनाएको छ। 

सुगम पालिकाको दुर्गम गाउँमा रहेको यो विद्यालयमा जान आउन झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता छ,तर यहाँका विद्यार्थीहरू आफ्नो शिक्षा सङ्गै सिपमा जोडिनको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा लागेका छन् ।

 यहाँका विद्यार्थीहरूले दिउसोको हाफछुट्टिको समय र खालि पिरियडको समयको सदुपयोग गर्दै च्याउ खेती उत्पादन , तरकारी उत्पादन र माहुरिपालनमा व्यस्त हुने गरेका छन् । माहुरीका लागि घारको नजिकै फूलहरू चाहिने भएकाले अहिले सो विद्यालयका माहुरि चराउनको लागि बर्दिया लगिएको छ । तर विद्यार्थीहरूलाई माहुरिपालनका सबै गतिविधिहरुको बारेमा जानकारी दिनको लागि महिनाको एक पटक भ्रमणमा लग्ने गरिएको विद्यालयका प्रधानाध्यापक टर्क बहादुर खत्रीले बताउनु भयो ।

अहिले विद्यार्थीका ४७ घार माहुरि छन् । ४७ माहुरिका घारबाट वार्षिक ७ सय ५० किलो मह उत्पादन गर्ने लक्ष्य विद्यालयले लिएको छ। विद्यालयले उत्पादन गरेको मह प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री हुने गरेको छ । च्याउ खेती र तरकारी खेतीमा भने विद्यार्थीहरू आफै जोडिने गरेका छन् । च्याउ बनाउनका लागि पराल काट्ने बफाउने पकाउने र पोका पार्ने काम पनि विद्यार्थीहरूले आफैले गर्ने गरेको उनीहरू बत्ताउँछन् ।

यसरी विद्यार्थीहरू पढाईको अलावा सिप सङ्ग मात्र जोडिएका छैनन् । सिप सङ्गै श्रम उत्पादन र बजार सङ्ग पनि जोडिएका छन् । नेपाल सरकारले २०७८ सालमा शिक्षालाई सिप सङ्ग , सिपलाई श्रम सङ्ग श्रमलाई उत्पादन सङ्ग र उत्पादनलाई बजार सङ्ग जोड्ने उद्देश्यका साथ देशका केही विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागु गरेको थियो,जस अन्तरगत कोहलपुरमा रहेको बालशिक्षा माबिमा यो कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ। विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम सङ्गसङ्गै मौलिक भान्सा घरलाई पनि जोड दिँदै आएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button