तपाईँ सुन्दै हुनुहुन्छः

जनतामा देखिएको निराशालाई आशामा परिणत हुने गरी काम गर्न जरुरी : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा निराशा देखिएकाले निराशालाई आशामा परिणत हुने गरी काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजना गरेको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधान र गणतन्त्रले निर्दिष्ट गरेका कामप्रति बढी ध्यान पुग्न नसक्दा जनतामा निराशा देखिनु स्वाभाविक भएकोले संविधानको पूर्ण कार्यान्वयन गरी गरिब तथा निमुखा जनताको जीवन फेरिने गरी काम गर्न सबैमा आग्रह गर्नुभयो । 

राष्ट्रपति पौडेलले स्वर्गीय महेन्द्रनारायण निधी क्रान्तिकारी र गान्धीवादी नेताको रुपमा रहनुभएको स्मरण गर्नुहुँदै निधी लगायत थुप्रै लोकतान्त्रिक योद्धाहरूको त्याग र बलिदानबाट प्राप्त अहिलेसम्मका उपलब्धिहरूलाई संस्थागत गर्दै जानुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लामो सङ्घर्षको यात्रापछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गर्नुहुँदै यसै व्यवस्थाको जगमा जनतालाई समृद्धिको मार्गमा लैजानुपर्ने बताउनुभयो ।

महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानका मानार्थ अध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान व्यवस्थाको सफल कार्यान्वयन गरी दीर्घायु बनाउनका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल, संस्थापक अध्यक्ष भानुभक्त ढकाल लगायतले प्रजातान्त्रिक र लोकतान्त्रिक व्यवस्थाको सवलीकरणका लागि उत्प्रेरित गर्ने उद्देश्यले महेन्द्रनारायण निधी स्मृति प्रतिष्ठानले पुरस्कार तथा सम्मानका कार्यक्रमहरूका साथै अन्य सामाजिक सेवाका कामहरू गर्दै आएको बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधी राष्ट्रिय पुरस्कार २०८० बाट नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई सम्मान गर्नुभयो । 

यस्तै राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधी राष्ट्रिय पुरस्कार २०७९ बाट पूर्व मन्त्री योगप्रसाद उपाध्यायलाई सम्मान गर्नुभयो ।

यसैगरी राष्ट्रपति पौडेलले प्रतिष्ठानद्वारा स्थापित प्रेमसागरीदेवी निधी राष्ट्रिय पुरस्कार २०८० बाट वरिष्ठ समाजसेवी दुर्गा घिमिरेलाई र २०७९ बाट वरिष्ठ तबला बादक सरिता मिश्रलाई सम्मान गर्नुभयो । 

ती चार वटै पुरस्कारको राशि जनही नगद १ लाख एक हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button