तपाईँ सुन्दै हुनुहुन्छः

कोइलावास भन्सार कार्यालयबाट १० महिनामा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन 

दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा एक करोड १९ हजार राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यभन्दा बढी हो । 

भन्सार कार्यालयले १० महिनामा ९४ लाख उठाउने लक्ष्य राखेको थियो । कार्यालयले वैशाख अन्तिमसम्ममा एक करोड १९ हजार उठाउन सफल भएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षमा एक करोड तीन लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको कोइलावास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिनु भयो । अब वार्षिक लक्ष्य पूरा गर्न दुई लाख ८३ हजार बाँकी रहेको कार्यालय प्रमुख दीपक शर्माले बताउनुभयो । ‘केही दिनमा हामीले राखेको वार्षिक लक्ष्य पूरा हुन्छ,’ प्रमुख शर्माले भन्नुभयो ।

कोइलावास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी भएको प्रमुख शर्माको भनाइ छ । ‘भारतीय सवारी साधनबाट उठाउने राजस्व नै राजस्वको प्रमुख स्रोतको रूपमा लिइएको छ,’ प्रमुख शर्माले भन्नु भयो । भारतबाट नेपाल आउने गाडीबाट दिनको ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको उहाँले बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ ।भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालयले जनाएको छ ।

सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको छ ।  ‘भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो,’ प्रमुख शर्माले भन्नु भयो  ।

कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा मानिस घुमफिरका लागि आउने गरेको शर्मा बताउनुभयो । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाका बन्दै गएको छ । व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्नेभन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो । ‘नेपाल र भारत दुई सरकारबीचमा कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ,’ प्रमुख शर्माले भन्नु भयो ।

कोइलाबास नाकालाई दिगो रूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक देखिन्छ । नेपाल र भारतबीच जी टु जीको माध्यमबाट नाकालाई दिगो रूपमा सञ्चालनको पहल गर्नुपर्ने स्थानीयले बताएका छन् ।

भन्सार तौलको आधारमा समेत हुने भएकोले विषादी परीक्षण तथा क्वारेन्टाइन स्थापना गर्न आवश्यक देखिएको छ । तर, यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । जिल्ला तथा छिमेकी जिल्ला सल्यान कपुरकोटमा उत्पादन भएको विभिन्न कृषि उत्पादन भारत निर्यात गर्न पहल भए पनि यसले पूर्ण रूपमा सार्थकता पाउन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button