तपाईँ सुन्दै हुनुहुन्छः

एकै शैक्षिक सत्रमा तीन पटक पुस्तक परिवर्तन 

पाल्पा । प्याब्सन पाल्पाले नयाँ शैक्षिक सत्रको सुरुवात हुनु अगाडी विद्यालयमा पढाई हुने पुस्तकको सूची जारी गर्दछ । र यो बर्ष पनि जारी गर्‍यो । तर यस बर्ष प्याब्सन पाल्पाले पटक पटक गरि तीन पटक पाठ्यपुस्तकको सूची परिवर्तन गरेको छ । जसले गर्दा अभिभावक तथा विद्यार्थी कुन प्रकाशनको पुस्तक पढ्ने भन्ने अन्योलमा रहेका छन् । 

शैक्षिक सत्र २०८१ मा भने प्याब्सनले पटक पटक गरि तीन पटक पुस्तकको सुची परिवर्तन गरेको छ ।  कक्षा १ देखि १० सम्मको विज्ञान विषय, कक्षा १ देखि ५ सम्मको अङ्ग्रेजी, कक्षा १ देखि ७ सम्मको नेपाली, कक्षा ४ देखि ७ सम्मको नेपाली व्याकरण र कक्षा ६ देखि १० सम्मको अनिवार्य गणित विषयको प्रकाशन गृह परिवर्तन गरेको थियो । त्यस्तै वैशाखको मध्य तिर कक्षा १ देखि ३ सम्म पढाई हुने सेरोफेरो विषय प्याब्सनले परिवर्तन गर्‍यो । भने वैशाखको अन्त्यमा ऐच्छिक गणित परिवर्तन गरेको हो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बित्न नपाउँदै पठनपाठन हुने पुस्तकको प्रकाशन परिवर्तन हुँदा अध्ययन गराउने र अध्ययन गर्ने दुबैलाई अन्योल भएको विषयगत शिक्षकहरू बताउँछन् । 

सरकारी विद्यालयको तुलनामा निजी विद्यालयमा प्रत्येक बर्ष पाठ्यपुस्तक परिवर्तन हुने गरेको छ ।  निजी विद्यालयका संयौ अभिभावकहरूलाई पाठ्यपुस्तक परिवर्तन हुनु स्वभाबिक भएपनि शैक्षिक सत्र सुरु भएको महिना दिन पूरा भएपछि कक्षा ८ देखि १० सम्मको ऐच्छिक गणित विषयको प्रकाशन गृह परिवर्तन हुँदा अभिभावकहरू अन्योलमा परेका हुन् । 

निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले प्रकाशन गृहबाट पाठ्यपुस्तक लागु गराए बापत पाउने कमिसनको खेलमा लागेका कारण विद्यार्थी, अभिभावकले सास्ती खेप्नु परेको अभिभावकहरूको गुनासो छ ।

कक्षा १० मा अध्ययनरत कृतिका भट्टराई भन्छिन् पहिले ओसन प्रकाशनको ऐच्छिक गणित लागु भएको कारण पसलबाट खरिद गरेको तर एक महिना पछि रिडमोर प्रकाशनको ऐच्छिक गणित लागु गर्ने भनियो, नयाँ प्रकाशनको यो विषय पनि बजारमा आजसम्म पाइएको छैन । प्याब्सनले विद्यार्थीको अनुकूलता भन्दा सङ्गठनको अनुकूलताको लागी निर्णय गर्दा विद्यार्थीमा अन्योलता उत्पन्न भएको छ । उनले बताइन् ।

प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य भन्दछन् पाठ्यपुस्तक परिवर्तन भएको होइन प्रकाशन गृह परिवर्तन भएको हो । यो रहरले भन्दा बाध्यताका कारण भएको हो । यस बर्ष ऐच्छिक गणित प्रकाशन गृहका कारणले गर्दा परिवर्तन गर्नु परेको हो । उहाँले भन्नुभयो  । 

प्रकाशन गृहबाट उपलब्ध हुने कमिसनको खेलका कारण प्याब्सनले प्रत्येक बर्ष पुस्तक परिवर्तन गर्दछ । सामुदायिक विद्यालयहरूमा खासै पुस्तक परिवर्तन नहुने तर निजी विद्यालयमा परिवर्तन भइरहने कमिसनको खेल बाहेक के हुन्छ र ? अभिभावक भरत थापाको गुनासो छ ।। पुस्तक व्यवसायी समेत प्याब्सनको क्रियाकलाप प्रति असन्तोष भएका छन् । व्यवसायी भन्दछन् एक महिना अगाडी बिक्री गरेको पुस्तक फिर्ता गर्नु पर्‍यो । त्यो व्यवसायका लागी नोक्सान हो । 

जिल्ला भरि निजी विद्यालयमा ऐच्छिक गणित विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या आठ सय भन्दा बढी रहेको छ । शिक्षा समन्वय इकाई प्रमुख महेन्द्र सुबेदीका अनुसार जिल्ला भित्र ४९ वटा निजी विद्यालयहरू रहेका मध्य मावि तहका १९ वटा विद्यालयहरू रहेका छन् । प्याब्सनले पटक पटक पुस्तक परिवर्तन गरे पनि सबै पुस्तक हालसम्म पनि सजिलै उपलब्ध छैनन् । 

प्रकाशन गृहबाट पुस्तक लागु गरिदिए बापत कमिसनको खेल हुने भएका कारण बिगत देखिनै यस्तो नियति विद्यार्थी तथा अभिभावकले बेहोर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button