तपाईँ सुन्दै हुनुहुन्छः

बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार

पोखरा । बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार–२०८० अर्पण गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्य समितिले अनुमोदन गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताउनु भयो ।

छनौट समिति आफैले विभिन्न प्रतिभाहरू खोजेर र ती प्रतिभाहरू सन्दर्भमा छलफल गरेर बालकलाकार सप्रिम मल्ल ठकुरीलाई पुरस्कार अर्पण गर्ने निर्णय गरिएको उहाँले जनाउनु भयो । ५० हजार नगद सहितको उक्त पुरस्कार पहिलो पटक वितरण गर्न लागिएको हो ।

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार यही माघ २७ गते पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा अर्पण गरिने भएको केन्द्रका सदस्य उपेन्द्र पौडेलले बताउनु भयो । नेपाली साहित्य लेखनका चर्चित साहित्यकार एवम् सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, उहाँका पिता स्व. गणेशबहादुर श्रेष्ठ र माता स्व. लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार को अक्षय कोष स्थापना गरिएको केन्द्रले जनाएको छ । १६ वर्ष मुनिका नेपाली बालबालिकाहरू, जसले आफ्नो अदम्य प्रतिभा देखाई मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएका हुन्छन्, त्यस्ता प्रतिभालाई हरेक वर्ष ५० हजार नगद राशि सहित सम्मान पत्रद्वारा ’सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ अर्पण गरिने भएको छ ।

अर्को वर्षबाट भने संस्थागत रुपमा देशभरका सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, प्रतिभा सिफारिसको आव्हान गर्ने र आवश्यकता अनुसारको विज्ञापन गर्ने लक्ष्य राखिएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भयो ।

२०६९ साल वैशाख ३० गते हिमाली नगरपालिका, वडा नम्बर ६, बाजुरामा पिता कृष्णबहादुर मल्ल ठकुरी र माता उर्मिला शाही ठकुरीको कोखबाट जन्मिनु भएको ठकुरीले सानै उमेरमा गीत, सङ्गीतको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेर चर्चा कमाएको केन्द्रले जनाएको छ । काठमाडौँस्थित महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत ठकुरी भ्वाइस अफ किड्स कार्यक्रमको पहिलो सिजनमा फस्ट रनर अप भए लगत्तै उहाँको गायनले एकाएक चर्चा पाउनु भएको थियो । हालसम्म उनका १९० बटा गीतहरू रेकर्ड भएर बजारमा आइसकेका छन्  भने उहाँको स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बाल गीत लगायत देउडा, ठाडो भाका, गजल, सालैजो, पूर्वेली भाका, लिम्बु, किराँती, मधेसी, नेवारी भाकाका गीतहरू रेकर्ड भइसकेका छन् ।

देश तथा विदेशका करिब २१० भन्दा बढी मेला, महोत्सव, कन्सर्ट लगायत ५०० भन्दा बढी लाइभ लोकदोहोरी कार्यकमहरुमा उहाँले सहभागिता जनाइसक्नु भएको छ । तत्कालीन अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा राष्ट्रिय म्युजिक अवार्ड, बालकल्याण परिषदबाट उत्कृष्ट बाल प्रतिभा अवार्ड–२०७९, क्वीन्स बाल स्वर सम्राट अवार्ड, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट क्यासनेप उत्कृष्ट बाल प्रतिभा अवार्ड, निम्स अवार्ड, ओएसआर अवार्ड, लोकदोहोरी अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरूबाट यस अघि नै उहाँ सम्मानित भई सक्नु भएको छ ।

उक्त पुरस्कार साहित्य, कला, सङ्गीत, खेलकूद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्ष नकटेका बालबालिकाहरूलाई सम्मान गरिने भएको छ ।  यसअघि २०५६ सालमा स्थापित राष्ट्रिय बाल प्रतिभा पुरस्कारको अक्षयकोष रु. १ लाखमा हाल रु. दश लाख पचास हजार थपेर अक्षयकोष रु. ११ लाख पचास हजार बनाइएको हो। तत्कालीन अवस्थामा पन्ध्र हजार नगद सहित प्रदान गरिने राष्ट्रिय बाल प्रतिभा पुरस्कार वितरणको जिम्मा कुमुदिनी होम्स स्कुलले लिँदै आएको थियो र २०५७ सालदेखि २०६९ सालसम्म उक्त पुरस्कार निरन्तर प्रदान गरिएको थियो । साहित्यकार सरुभक्त सरोकार केन्द्र हाल परिवर्तन गरी सरुभक्त केन्द्रको रुपमा दर्ता गरी अघि बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button