तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि स्थापित हुने

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नाराका साथ मनाउन लागिएको सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज एक वक्तव्य जारी गरी मन्त्री शर्माले मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग महत्वपुर्ण हुने बताउनु भएको हो ।

मन्त्री शर्माले तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरी हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रुपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको स्पष्ट लक्ष्य रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहनुभएकी मन्त्री शर्माले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गईरहेको बताउनुभयो । आजको समयमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको र दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरुमा विद्युतीय प्रणालीको उपयोग बढेको बताउँदै उहाँले डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको जानकारी दिनुभयो ।

सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढेको बताउँदै उहाँले साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको जानकारी दिनु भयो ।

शुभकामना शन्देस मार्फत मन्त्री शर्माले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको जानकारी दिँदै दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको बताउनु भयो । उहाँले सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति,२०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको बताउनु भयो ।

मन्त्री शर्माले दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button