तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु

दाङ । राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा पुगेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेसँगै सुरु भएको  निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । प्रदेश सभा सदस्य ३४ जना र स्थानीय तहका ९४ जना प्रमुख उपप्रमुखले मतदान गरेको जानकारी दिनुभएको छ ।

लुम्बिनी प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि निर्वाचन हुन थालेको छ । उहाँका अनुसार मतदानमा सहजताका लागि मतदानस्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

निर्वाचनमा लुम्बिनी प्रदेशका एक सय ९ स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य गरेर ३ सय ५ जना मतदाता रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button