तपाईँ सुन्दै हुनुहुन्छः

एकिकृत घुम्ती शिविरमा पाँच सय जनाले लिए सेवा 

अछाम । अछामको मङ्गलसेन नगरपालिका वडा न १३ मा सञ्चालित एकीकृत घुम्ती शिविरमा ५ सय जनाले सेवा लिएका छन् । 

मङ्गलसेन नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा सञ्चालन भएको शिविरमा साबिकको बस्ती गाविसका ५ सय जनाले सेवा लिएका हुन । 

पुस ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा ९० जना महिलाको पाठेघर चेकजाँच, १४ जना गर्भवती महिलाले भिडियो एक्सरे र ६ जनाले ल्याब सेवा लिएका छन् । 

भौगोलिक रुपमा विकट वडाका नागरिकहरूलाई उनीहरूकै गाउँमा गएर विभिन्न किसिमका सेवाहरू दिने उद्देश्यले आयोजना गरिएको शिविरमा १ सय ५६ जनाको आँखा चेकजाँच गरिएको छ भने मोतीबिन्दु भएका १४ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ ।

शिविरमा डाडीगडे, सालपाटा, बस्ती, बाडा, बुढाबाडा लगायतका टोलबाट आएका अन्य ३ सय १८ जनाले पनि सेवा लिएका स्वास्थ्य शाखा मङ्गलसेनमा प्रमुख भुमिनन्द ढुङ्गानाले जानकारी दिनुभयो । 

स्वास्थ्य चौकी बस्तीमा सम्पन्न शिविरमा तीन जनाले ख वर्ग र एक जनाले क वर्गको अपाङ्गता परिचयपत्र लिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी दिनुभयो । 

आर्थिक अवस्था कमजोर भएका साहारा विहीन नागरिकहरूलाई शिविरबाट निकै ठुलो राहात मिलेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारीले बताउनुभयो । 

भिडियो एक्सरे, आँखाका जाँच, अपाङ्गता परिचय पत्रका लागि महँगो भाडा तिरेर मङ्गलसेन जानुपर्थ्यो तर शिविरले आफूहरूको समस्या गाउँमा समाधान गरि दिएको बस्तीका नागरिकहरूको भनाई छ । 

शिविरमा सहभागी स्थानीय नागरिकहरूलाई नगरपालिका र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, यसको प्रक्रियाका बारेमा पनि जानकारी गराइएको थियो । 

मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलीले वडा न १३ बस्तीमा रहेका विभिन्न विकास निर्माणका योजनाहरूको अनुगमन तथा सम्भाव्यताको समेत अध्ययन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button