तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेपछि उपल्लो करानका विद्यालय एक महिनाका लागि बन्द

मुगु । जिल्लाका  एक नगरसहित  चार ओटा स्थानीय निकायमध्ये  हिउँदको समयमा अत्यधिक  चिसो हुने पूर्वी   करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयहरूमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।

अत्यधिक जाडो बढेपछि   कर्मचारीलाई काम गर्न गाह्रो र शिक्षक–विद्यार्थीलाई पाठनमा अप्ठ्यारो हुनुभएपछि पुसको दोस्रो सातादेखि   आगामी माघ  १५  गते सम्मका लागि  गाउँपालिका  भित्र कम उच्च हिमाली बस्तीहरू सेरोग, दोल्फु,ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ र दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयहरूमा  एक महिना जाडो बिदा दिने निर्णय भएको   मुगुम् कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो ।   ती बस्तीहरूमा जाडो अत्यधिक भएका कारण दिन प्रति दिन विद्यार्थी स्कुल आउन छाडेपछि   एक महिना विद्यालय बन्द गर्नु परेको  गाउँपालिकाले जनाएको छ ।

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले एक महिनाका लागि  माथिल्लो करानमा पठन पाठन बन्द गरिएको  अध्यक्ष क्याप्ने लामाले बताउनुभयो ।  

पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिका भित्र  कार्यरत  शिक्षकहरू  आफ्ना घरतर्फ लागेका छन् । गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका  कामहरूसमेत चिसोका कारण  प्रभावित  हुने बताइएको छ  ।

बिस्तारै चिसो कम भएपछि माघ महिनाको १५ गते पछि गाउँ पालिका भित्रका  सम्पुर्ण सरकारी सेवाका काम नियमित रूपबाट सञ्चालन  हुने गाउँपालिकाले जनाएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्ती मुगु, चितै, डोल्फू, किम्रीलगायत बस्तीका बासिन्दा जाडो छल्न बेँसी झरेपछि गाउँ सुनसान भएका छन् । जाडो छल्न बेँसी झरेका सर्वसाधारण गर्मी मौसम सुरु भएपछि गाउँ फर्किने गरेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button