तपाईँ सुन्दै हुनुहुन्छः

गायिका शर्मिला गुरुङका बुवा – जो सुन्तला बेचेरै कमाउँछन् वार्षीक १० लाख

स्याङ्जा । चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङका बुवाले सुन्तला बेचेरै वार्षीक १० लाख कमाउँदै आउनुभएको छ । शर्मिलाका बुवा वालिङ ४ एलादी खाल्डेका वेदबहादुर गुरुङले यसपटक राम्रो सुन्तला फलेका कारण १० लाखको सुन्तला बिक्री हुने बताउनुभयो । ७३ वर्षको उमेरमा पनि निकै फुर्तिला देखिने वेदबहादुर अवकाश प्राप्त भारतीय सेना हुनुहुन्छ । त्यसो त एलादी खाल्डे सुन्तलाको पकेट क्षेत्र हो । सुन्तलाकै नामबाट सुन्तलाबारी होमस्टेसमेत सञ्चालनमा आएको खाल्डे यति बेला सुन्तलाले पहेँलपुर भएको छ ।

पाँच सन्तानका बुवा बेदबहादुरलाई सुन्तला खेतीमा चासो भारतीय सेनामा रहँदैको हो । वेदबहादुर सम्झनुहुन्छ ‘शर्मिला छोरी सानै हुँदा म पल्टनबाट छुट्टीमा आएको थिएँ । त्यति बेला यस्तो यातायातको सुविधा थिएन । सुन्तलाको बेर्ना लिएर आउँदा तल फाँटमा बास बसेर भोलीपल्ट घर आएको हो । सुन्तला खेतीमा रुचि मेरो पहिल्यै देखि नै हो ।’ घर वरिपरि, खेत बारी सबै सुन्तलाले भरिएको छ ।

गत वर्ष ९ लाख ५५ हजारको सुन्तला बिक्री गर्नुभएका वेदबहादुरले धान, मकै, कोदो भन्दा सुन्तलाले कयौँ गुना फाइदा हुने बताउनुहुन्छ । १००० बोट रहेको उहाँको सुन्तला बगैँचा साना ठुला गरी ५ ओटा छन् । ७०० बोटले उत्पादन दिई रहेका छन् भने बाँकी ३०० उत्पादन दिने तयारीमा आईसकेका छन् । परम्परागत रुपमा दशक अगाडि नै सुन्तला खेती गरिएपनि व्यावसायिक रुपमा भने विगत ५ वर्षदेखि आम्दानी लिँदै आएको उहाँले बताउनुभयो । सुन्तला बिक्रीका लागी उहाँलाई कुनै चिन्ता छैन ।
बगैँचामै बुटवल, मुग्लिङ, पोखराका व्यापारी आउन थालेका छन् । गाउँमा सुन्तला खेती गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो अहिले भने खाल्डे सुन्तलामय बनेको हो । सुरुमा सुन्तला लगाउँदा खिसी गर्नेहरूले पनि अहिले सुन्तला खेतीलाई अगाँलेका छन् । काम गरे आफ्नै गाउँमा हिरा फल्ने भन्दै वेदबहादुरले भन्नुभयो,‘ काम गर्नुपर्छ, माटो सुहाउँदो खेती गरियो भने विदेश जान पर्दैन, यहीँ हिरा फल्छ ।’ चार भागमा एक भाग सुन्तला गोडमेल, स्याहारसुसारमा खर्च भएपनि तिन भाग आफूलाई फाइदा हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय गाउँमा सुन्तलाबाट पैसा आउन थालेपछि भने युवाहरूले पनि सुन्तला खेतीमा चासो दिएको गुरुङको भनाई छ । उहाँले मेवालगायतका फलफूलका बिरुवा आफै उत्पादन गरेर गाउँमा वितरण गर्दै आउनुभएको छ । अहिले सुन्तला ७० देखि ८० रुपैयाँमा बोटबाटै विक्री हुन्छ । स्याङ्जाको सदरमुकाम पुतली बजारमा नगरपालिकामा औँसा किरा र पतेरोले सुन्तला पातलो फले पनि बेदबहादुरको सुन्तला बगैँचामा भने सुन्तला गत वर्ष भन्दा वृद्धि भएको छ ।

सुन्तला सुपरजोन कार्यालयले हरेक वर्ष पकेट क्षेत्रमा पुराना र रोग लागेका बिरुवा कटान गर्दै आएको छ भने रुख काटे बापत एक बिरुवा र ३०० रुपैयाँ समेत दिने गरेको वेदबहादुरले बताउनुभयो । औँसा किराले झरेका सुन्तला प्लाष्टिकमा बन्द गर्ने र किरा नष्ट गर्दा थप फैलनबाट जोखिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button