तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका समयमा गरेका प्रतिबद्धता पुरा गर्नु सांसदको कर्तव्य हो– नेत्री खातुन

काठमाडौँ।नेपाली कांग्रेसकी नेत्री जावेदा खातुन जागाले निर्वाचका समय बेला नेताहरुले मतदाता समक्ष गरेका बाचा र प्रतिबद्धता पुरा गर्नु प्रत्येक सांसदको कर्तव्य र दायित्व भएको बताउनुभएको छ । सांसदसँग रासस सम्बादमा उहाँले चुनाव प्रसार प्रसारका समयमा जनतालाई दिएका आश्वासन, सेवा सुविधा र विकास निर्माणको ‘एजेण्डा’ बोकेर गएको सांसद मन्त्रालयका कोटा–चोटामा  भेटिनुलाई अन्यथा लिन नहुने धारणा राख्नुभयो ।

  नेत्री खातुनले विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न नसकेतापनि सडक र खेल मैदानका लागि आफूले गरेको प्रयासको मतदाताले प्रशंसा नै गरेको प्रतिक्रिया दिनुभयो । मतदाताले कानून निर्माणमा कति प्रगति भयो तथा बाँकी के कति कारणले हुन सकेन भनी प्रश्न गरेको घटना सुनाउँदै सांसद खातुनले विषयगत समिति गठनमा भएको ढिलाइ, सदन अवरुद्ध र दलीय संख्यात्मक संरचनाले तीव्ररुपमा कानून निर्माणमा चूनौति खडा गरेको बताउनुभयो ।

हिउँदे र  बर्खे अधिवेशन सकिदाँसम्म जति कानून निर्माण गर्नु पर्ने हो त्यो नभएकोमा आलोचना भइरहेको बताउदै उहाँले जनताका आवाज र कानून निर्माणलाई सवै राजनीतिक दलले साझा एजेण्डा बनाउन पर्ने विचार प्रकट गर्नुभयो । सांसद खातुनले भन्नुभयो, “स्वार्थको राजनीतिककारण एक–अर्काको अस्थित्व र उपस्थितिलाई अस्वीकार गर्ने, हस्तक्षेप गर्ने,सरकार फेरबदल भइरहने, विधेयकमाथि पनि आ–आफनो स्वार्थ रहने परिस्थितिले कानून तर्जूमालाई तिव्रता दिन चूनौति खडा भएको छ ।”

नेत्री खातुलनले सदनमा मर्यादापूर्व प्रस्तुत हुने, सोच विचार गरी वक्तव्य दिने र अनुशासनमा रही गौरव गर्न लायक अगुवा हुन  पर्नेमा सस्तो लोकप्रीयताका लागि नियमापती गर्ने, आरोप– प्रत्यारोप मात्र नभई सभामै कपडा खोल्नेजस्ता कार्य सुहाउँदो विषय नभएकोे टिप्पणी गर्नुभयो । जनप्रतिनिधि हुनुका नाताले सांसदले जनताको आशा र भरोसा कायम राख्न जरुरी भएको बताउदै पार्टी केन्द्रीय सदस्य खातुनले विकास निर्माण, डुवान, नदी कटानका अतिरिक्त बर्दियामा मानव र बन्यजन्तुबीचको द्वन्द प्रमुख समस्या रहेको जानकारी दिनुभयो ।

  उहाँले भन्नुभयो, “विकास निर्माण  त गर्दै गरौँला सबैभन्दा पहिला मानिस बाँच्न प¥यो । जल्दाबल्दो समस्या त्यही हो । बाढी पनि समस्याकै रुपमा छ । पुल आवश्यक छ ।”

  खर्चिलो निर्वाचन प्रणालीले पनि सुशासन कायम गर्न र भ्रष्ट्राचार निवारणका लागि चूनौति खडा गरेको विचार प्रकट गर्दै सांसद खातुनले चुनावमा गरेको खर्च उठाउने प्रवृत्तिले पनि त्यसमा मलजल पु¥याएको धारणा राख्नुभयो । हालको मिश्रित निर्वाचनको साटो समानुपातिक निर्वाचन प्रणाली मात्र कायम गरिए खर्चका हिसावले निकै किफायत हुने व्यक्तिगत धारणा रहेको बताउँदै उहाँले यसमा दलका शीर्ष नेताहरुले समयमै ध्यान पु¥याउन आवश्यक रहेको सुझाव दिनुभयो ।

  विचारमा बलियो र निष्ठावान भएपनि पैसा नहुने नेता तथा कार्यकर्ताले अवसर नै प्राप्त गर्न कठिन रहेको उदाहरण प्रस्तुत गर्दै नेत्री जागाले गरिव र जनताको सेवामा समर्पित व्यक्ति अघि बढन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । मुलुकको शिक्षा क्षेत्र र उद्योग धन्दा प्रवद्र्धनमा राज्यले लगानी बढाएर गुणस्तरीय शिक्षा र रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताउँदै उहाँले देशभित्रै स्वरोजगार मुखी सवै खाले विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्न जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।

  प्रतिनिधिसभा महिला, बालबालिका तथा समाजकल्याण समिति सदस्य समेत रहनुभएकी सांसद खातुनले बर्दिया सबै खाले समुदायबीच हार्दिकता र  सामाजिक सद्भाव कायम गरेको नमूना जिल्लाकारुपमा स्थापित रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै समुदायबीच धार्मिक, सामाजिक, भाषिक र साँस्कृतिक सद्भाव कायम छ, एक अर्काको धर्म, सँस्कृति र चाड पर्वलाई सम्मान गर्दै सवै समुदायको चाड पर्वमा सबै सहभागी हुने शुभ–कामना आदान प्रदान गरी भाइचाराको सम्वन्ध कायम गरेका छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button