तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रधानमन्त्री अमेरिकाबाट चीन जाँदा भ्रमणको प्रभावकारितामा कुनै असर पर्दैन’

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको भ्रमण पुरा गरी सीधै चीन भ्रमणमा जाँदा भ्रमणको प्रभावकारितामा कुनै असर नपर्ने स्पष्ट पार्नुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री शर्माले भ्रमणका क्रममा छलफल हुने विषयहरू दुवै देशको सहमतिमा तय हुने र अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने गरी नै आवश्यक तयारी भइरहेको हुनाले भ्रमणको प्रभावकारितामा कुनै असर नपर्ने बताउनुभयो ।

file photo

मन्त्री शर्माले दुवै देशको ध्यान भ्रमणको उद्देश्य पूरा गर्नेतर्फ केन्द्रित हुने भएकाले अन्य प्राविधिक विषयले अर्थ नराख्ने बताउनुभयो ।

सञ्चार मन्त्री शर्माका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालय मातहतका विभिन्न कार्यालयहरूमा ३० वटा, खानेपानी मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरूमा २ सय ३९ वटा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत ३१ वटा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका आयोजनाहरूका लागि १० वटा अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले चीनमा यही भाद्र २६ गते देखि २९ गते सम्म आयोजना हुने नेपाल चीन संयुक्त व्यापार कार्यदलको बैठकमा सहभागी हुन सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने तथा असोज ८ देखि ९ सम्म चीनको बेजिङमा हुने ग्लोबल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने, स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटुवाल तथा प्रशासन तर्फको कार्यकारी निर्देशकमा सहसचिव दीपक लामिछाने, वातावरण तर्फको कार्यकारी निर्देशकमा सहसचिव श्रीराम गोपाल खरबुजा र कानून तर्फको कार्यकारी निर्देशकमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लीलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको सञ्चार मन्त्री रेखा शर्माले जनाकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button