तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण बढेसँगै काँकडभिट्टा नाकामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइयो

दैनिक सयभन्दा बढीको स्वाब परीक्षण

भद्रपुर, झापा । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै पूर्वी सीमा नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको छ । 

नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरूलाई स्वाब परीक्षण गरेरमात्र प्रवेश दिन थालिएको छ ।

काँकडभिट्टा नाकामा हाल दैनिक सयभन्दा बढी मानिसको स्वाब परीक्षण भइरहेको नाकाका सञ्चालनमा रहेको हेल्प डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताउनुभयो ।

दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपालीहरू, नेपालमा विभिन्न काम गर्न आउने भारतीय नागरिक, भुटान र बङ्गलादेशबाट नेपाल प्रवेश गर्ने नागरिकलाई शङ्का लागे स्वाब टेस्ट गरिने उहाँले बताउनुभयो ।

नाकामा सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य स्थिति बारे सोधपुछ गर्ने र नागरिकता लगायतका परिचय पत्र हेरेर नेपाल प्रवेश गर्न दिइरहेको बताइएको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिनुभएकी देउजाले कर्मचारी अभाव भएकोले स्थानीय मेचीनगर नगरपालिकासँग थप कर्मचारी माग गरेको बताउनुभयो । नाकामा हाल स्वास्थ्य चेक जाँचका लागि प्रदेशबाट १, स्वास्थ्य कार्यालय झापाबाट २ र मेचीनगर नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

नेपालमा पनि कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट फेला पर्न थालेपछि पूर्वी नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button