तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौँ : मन्त्री गिरी

फाइल तस्वीर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताउनुभएको छ । 

स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा परिवर्तनको अनुभूति दिलाइने बताउनुभयो । 

“स्वास्थ्य क्षेत्रमा परिवर्तनका लागि सरकारमा सहभागी भएका छौँ,” उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा धेरै विसङ्गति र विकृति छन् । त्यसलाई  हटाउन हामी डटेर लाग्छौँ । स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गरेर परिवर्तन गरिने छ ।” मन्त्री गिरीले स्वास्थ्य पत्रकारलाई स्वास्थ्य क्षेत्रका विसङ्गति र विकृतिविरुद्ध कलम चलाउन समेत आग्रह गर्नुभयो । गुणस्तरीय स्वास्थ्य सेवाका लागि मन्त्रालय लागि परेको उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले सरकारले गुणस्तरीय स्वास्थ्य सेवा जनतामाझ पुर्‍याउनका लागि लागिपरेको बताउनुभयो । 

यस्तै सांसद निशा डाँगीले जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनुपर्ने उल्लेख गर्नुभयो । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्ररमण सिंहले विभागले जनतालाई कसरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ भन्नेमा मन्त्रालय लागिपरेको बताउनुभयो । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा प्रदीप ज्ञवालीले जनताको स्वास्थ्यबारे खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमा प्रभावकारीरुपमा कार्यान्वयन गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइरहेको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने र पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकारको दक्षता अभिवृद्धिमा जोड दिनुभएको थियो । 

सो अवसरमा मञ्चका सदस्य समेत रहनुभएकी निशा डाँगी सांसदमा निर्वाचित भएकामा बधाइ ज्ञापन गरिएको थियो भने मञ्चका सदस्य भगवती तिमिल्सेनालाई सम्मान गरिएको थियो । 

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button