तपाईँ सुन्दै हुनुहुन्छः

साढे दुई महिनामा बाढी पहिरोका कारण पाकिस्तानमा नौ सयको मृत्यु

इस्लामावाद। पाकिस्तानमा पछिल्लो समयमा आएका बाढी पहिरोमा परी नौ सयभन्दा बढीको मृत्यु भएको छ ।

गत जुन मध्यदेखि अहिलेसम्म आएका बाढी पहिरोमा परी नौ सय तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सोही अवधिमा अरु १३ सय जना घाइते भएका छन् ।

त्यसैगरी हजारौँ मानिस घरबार विहीन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

अत्यधिक वर्षाका कारण पाकिस्तानका विभिन्न ठाउँमा ठूला बाढी पहिरो आएर मानवीय तथा भौतिक क्षति भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्रै ७० भन्दा बढीको मृत्यु भएको छ । प्राधिकरणका अनुसार सोही अवधिमा बयासी हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरूले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरूको आवश्यकता रहेको बताएका छन् ।

बाढी पहिरोले धेरै क्षति गरेकाले अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको अपेक्षा गरिएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन् । उनीहरूले सहयोगका लागि अपिल समेत गरेका छन् ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button