तपाईँ सुन्दै हुनुहुन्छः

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

काठमाडौँ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरी ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । 

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो । 

अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको बताउनुभयो । 

उहाँले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिनुभयो । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ । 

सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेर समेत पठाउने छन् ।

 चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् । 

टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक पटकमा तीन जना व्यक्तिले फोन गरी सेवा लिन सक्ने छन् ।

टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्व स्वास्थ्य सङ्गठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पुर्‍याउने बताउनुभयो । 

मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कल सेन्टर सञ्चालन गरिएको थियो । कोभिड–१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा.नवराज जोशीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button