तपाईँ सुन्दै हुनुहुन्छः

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबलको तालिका सार्वजनिक

भोजपुर । भोजपुरमा सदरमुकामको स्थानीय टुँडिखेलमा आगामी वैशाख ५ गतेबाट सञ्चालन हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुने लागेको प्रतियोगितामा अफ्रिकन रुटस एसोसिएसन, क्यामरुन सहित ८ वटा टिमले सहभागिता जनाउने भोजपुर जिल्ला फुटबल संघका महासचिव तथा प्रतियोगिताका खेल संयोजक सफल किराँतले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी अन्य टिमहरूमा आयोजक भोजपुर फुटबल क्लब, धरान फुटबल क्लब सुनसरी, सगरमाथा यूथ क्लब मोरङ, धनकुटा फुटबल क्लब, धनकुटा, रेड हर्ष फुटबल क्लब इलाम, भगवती स्पोर्टस क्लब खोटाङ गोर्खा ब्वाइज क्लब, रुपन्देही रहेका छन् ।

प्रतियोगिता अन्तर्गत प्रतिस्पर्धा गर्ने टिमहरूको खेल तालिका समेत सार्वजनिक गरिएको संयोजक किरातले बताउनुभयो । उहाँका अनुसार वैशाख ५ गतेबाट ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरू प्रत्येक दिन एउटा खेल सञ्चालन हुनेछन् ।

पहिलो खेल वैशाख ५ गते भगवती स्पोर्टस क्लब खोटाङ र धरान फुटबल क्लब सुनसरीका बिचमा हुने छ । यसैगरी दोस्रो खेल सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबका बिच वैशाख ६ गते हुने छ । तेस्रो खेल अफ्रिकन रुटस एसोसिएसन क्यामरुन र धनकुटा फुटबल क्लबका बिचमा ७ गते र चौथो खेल रेड हर्ष फुटबल क्लब इलाम र गोर्खा ब्याइज क्लब रुपन्देहीका बिच वैशाख ८ गते हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्ने छ भने उपविजेताले ३ लाख प्राप्त गर्ने छ । प्रतियोगिताको फाइनल खेल भने वैशाख ११ गते हुने छ । करिब ३४ लाखको लागतमा हुने फुटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फुटबल सङ्घबाट ५ लाख र अन्य ४ लाख भने विभिन्न क्षेत्रबाट सहयोग मागिने आयोजकले जनाएको छ ।

गोल्डकप सम्पन्न भए लगतै जिल्ला लिग र तेस्रो महिला मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष सुवालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button