तपाईँ सुन्दै हुनुहुन्छः

पाँच सय ९६ लाभग्राही थपिए

चितवन। भूकम्पपछिको पुनर्निर्माणका लागि जिल्लामा ५९६ लाभग्राही थप भएका छन् । जिल्लामा ५९६ भूकम्प प्रभावित थपिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यही मङ्सिर १५ गते गरेको निर्णयानुसार नयाँ लाभग्राही थप गरेको हो ।

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भरतपुरका अनुसार पुनर्निर्माणतर्फ ३०७ र आंशिक क्षतितर्फ २८९ नयाँ लाभग्राही थपिएका छन् । कार्यालयले गत जेठ मसान्तसम्म लिएको गुनासोका आधारमा उनीहरु लाभग्राहीको सूचीमा थपिएको हो ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार सो समयसम्म नौ हजार ५६९ को गुनासो केन्द्रमा पठाइएको थियो । त्यसमध्येबाट नै प्राधिकरणले लाभग्राही थप गरेको हो । उहाँका अनुसार थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ ।

यस्तै कार्यालयले जिल्लाको पुनर्निर्माणको ६८ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । सात हजार ४६० लाभग्राहीमध्ये चार हजार ५९५ ले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् । त्यस्तै दोस्रो किस्ताबापतको रकम पाँच हजार ५४० ले लिइसकेका छन् । पहिलो किस्ता सम्झौता गर्नेको सङ्ख्या छ हजार ८५९ रहेको छ ।

मङ्सिर १५ गतेको निर्णयले लाभग्राहीको सङ्ख्या थप भई सात हजार ७६७ पुगेको छ । उनीहरुले पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र तेस्रो किस्ताबापत रु एक लाख प्राप्त गर्ने छन् । यस्तै आंशिक एक हजार ४६ मध्ये ६५४ को रकम निकासा भइसकेको छ । आंशिकतर्फ एक हजार ३३५ पुगेको इञ्जिनीयर नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button