तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो टी-२० मा वेस्टइन्डिजद्वारा भारत ८ विकेटले पराजित

काठमाडौँ । जारी टी-२० सिरिजको दोस्रो खेलमा भारत वेस्टइन्डिजद्वारा पराजित भएको छ । गएराती सम्पन्न खेलमा भारत वेस्टइन्डिजद्वारा ८ विकेटले पराजित भएको हो ।

भारतले दिएको १७१ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । वेस्टइन्डिजका लागि लेण्डी सिमन्सले सर्वाधिक ६७ रन बनाएका थिए ।

त्यस्तै एविन लुइसले ४० रन बनाए भने शिमरोन हिटमेयरले २३ तथा निकोलस पुरनले ३८ रन बनाएका थिए । भारतका लागि रविन्द्र जडेजा र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । भारतका लागि शिवम दुवेले सर्वाधिक ५४ रन बनाएका थिए भने रिषव पन्तले ३३ रन बनाए । त्यस्तै रोहित शर्माले १५, वीरत कोहलीले १९, केएल राहुलले ११ श्रेयस अय्यरले १०, रविन्द्र जडेजाले ९ रन बनाएका थिए ।

अब सिरिजको अन्तिम खेल आगामी बुधबार मुम्बईमा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button