तपाईँ सुन्दै हुनुहुन्छः

चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण शुरु

बनेपा । कृषिजन्य उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ ।

प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो आयोजनाबाट करिब ३०० हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने आयोजनाले जनाएको छ ।

कृषिको प्रचुर सम्भावना बोकेको कुपिन्टार क्षेत्रमा पानीको चरम समस्या भएकाले यो आयोजना शुरु गरिएको आयोजना उपभोक्ता समितिका सचिव मानबहादुर घिसिङले बताउनुभयो ।

आर्थिकरुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण गरिएको उहाँले बताउनुभयो ।

सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका २०० घरधुरी लाभान्वित हुने भएका छन् । सिँचाइ आयोजना निर्माण भएपछि बाह्रैमास खेती गर्न सकिने जनाइएको छ ।

“सम्झौताअनुसार आगामी २०७७ असार मसान्तसम्ममा आयोजनाको सम्पूर्ण काम सकिने गरी काम भइरहेको छ”, सचिव घिसिङले भन्नुभयो, “मुहानदेखि सिञ्चित ठाउँसम्म पुग्न साढे चार किलोमिटरको कुलो निर्माण गर्नुपर्नेमा केही भाग उपभोक्ता समितिले र बाँकी काम ठेकेदारले गर्नुपर्नेछ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button