तपाईँ सुन्दै हुनुहुन्छः

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन आज दर्ता गरिसएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो । अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो ।

संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि उहाँलाई थुनामा पठाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button