तपाईँ सुन्दै हुनुहुन्छः

सुनसान बर्थिङ सेन्टर : घर, घरमा सुत्केरी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका ७ र ८ नम्बर वडाका करिब एक दर्जन गाउँमा अझै पनि सडक पुग्न सकेको छैन । गाउँमा सडक नपुग्दा सयौ स्थानीय जटिल खालका रोगहरुमा स्वास्थ्य सेवा लिनबाट बन्चीत छन् ।

स्थानीयहरुको लागि भन्दै ताम्तीमा ताम्ती स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर छ । सडकको पहुँचबाट बन्चित स्थानीयहरु बर्थिङ सेन्टरसम्म आउन नभ्याउने हुँदा घरमै सुत्केरी हुने गरेका छन् ।

एक दशक पहिले डिलिप परियोजनाबाट करोडौको लागतमा निर्माण भएको सडक निकै जोखिमपुर्ण छ । त्यही सडक पनि बनेको एक दशक बितिसक्दा पनि कर्णाली राजमार्गसंग जोड्ने पुल निर्माण भएको छैन । पुल नबन्दा तातोपानी गाउँका ७ र ८ नम्बरवडाका हजारौ नागरिक अहिले पनि पैदलै हिड्छन् ।

स्थानीय सरकार आईसकेपछि सडक निर्माणलाई विशेष प्रथामिकता दिदै बजेट छुटाए पनि यी दुर्गम गाउँमा भने अझै कसैको चासो देखिदैन ।
दुर्गमतालाई सुगमता संग जोड्न, स्थानीय उत्पादीत बस्तुको बजारीकरण गर्न, स्वास्थ्य सेवाको पहुच पुराउन सडक निर्माण जुम्लाका आठै स्थानीय तहको प्रथामिकतामा छ ।

भौगोलिक विकटता भएको यी गाउँमा भने अझै पनि कसैको चासो नजाँदा यहाँका स्थानीयहरु दुखित छन् ।
स्थानीय सरकार आएको तीन वर्ष पुगिसक्दा पनि विकट टोप्ला क्षेत्रका गाउँमा सडक नपुगेको स्थानीय वीर बहादु रावतले गुनासो गरे । उनले भने, स्थानीयर सरकारको आखा खाली सुगमतिरै छ । दुर्गम क्षेत्रको अतिआबश्यताको विकास सडक निर्माण नहुँदा गर्भवती महिला प्रत्यक्ष रुपमा जोखिममा परेको रावतको भनाई छ ।

घरमै सुत्केरी हुन बाध्य
तातोपानी ७ र ८ नम्बर वडामा करिब एक दर्जन बढि गाउँ छन् । भौगोलिक रुपमा छरिएर रहेका गाउँमा एकठाउबाट अर्को गाउँ जान कम्तीमा पनि ३ देखि ४ घण्टा पैदल हिड्नु पर्दछ । दुबै वडाका स्थानीयहरुलाई लक्षित गरी ताम्ती स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर संचालनमा छ । पुर्वको बुढाबाडादेखि पश्चिमको सर्मी गाउँसम्मका महिला सुत्केरी बर्थिङ सेन्टरमै आउनु पर्ने हो । तर विडम्बना सडकको पहुँच नहुँदा जोखिम मोलेर अधिकांश महिला घरमै सुत्केरी हुने गरेको ताम्ती स्वास्थ्य चौकीका ईन्चार्ज भुपेन्द्र पाण्डेले जानकारी दिए ।

उनले भने, ‘आव २०७५ र ७६ मा वर्थिङ सेन्टरमा सुत्केरी गराउने लक्ष्य करिब ४५ जना महिलाको थियो । तर वर्षभरी गरेर १९ जना मात्रै बर्थिङ सेन्टरमा सुत्केरी भईन् । बाँकी २६ जना महिला सडक नहुँदा घरमै सुत्केरी भएको तथ्यांक छ ।

तातोपानी ७ र ८ का (सर्मी,सर्की,ताम्ती,बारगाउँ,बङतडी,मछालदेउ,डुंग्री थलाले) लगायत एक दर्जन गाउँमा अझै पनि सडक पुगेको छैन ।
अनमी वर्षा पाण्डेका अनुसार कतीपय महिलाहरु ल्याउदा ल्याउदै बाटोमै सुत्केरी हुने गरेको बताउँछिन् । उनले थपिन्, भौगोलिक रुपमा विकट छ, कुनै पनि बस्ती सडक नपुगेकोले जोखिम मोलेरै घरमा सुत्केरी हुन्छन् ।

घरमै सुत्केरी हुँदा कतिपय महिलाको सालनाल फुक्न नसक्दा ज्यान जाने गरेको अनमी कौशिला साह बताउछिन् ।

सुत्केरी पर्खिन्छौ
दुर्गमको ताम्ती स्वास्थ्य चौकीमा तींनजना अनमी, ईन्चार्ज लगायतका कर्मचारी रातदिन नभनी सेवामा खटिएका छन् । अनमी पार्वती न्यौपानेले भनिन्, २४ घण्टा सेवाका लागि तयार भएर बस्दा पनि सुत्केरी हुन आउने कमै छन् ।

सडक नबन्दा यहाँका महिलाहरु सुतकेरी हुन बर्थिङ सेन्टरसम्म आउन नसकेको न्यौपानेले बताइन् ।

स्थानीय सरकार सडक निर्माणमा ध्यान दिएन,एम्बुलेन्स संचालन गर्ने त कुरै छैन । साह्रै दुख पाइयो स्थानीय वीर बहादुर रावतले पीडा पोखे ।

स्वास्थ्य सुरक्षाका लागि बर्थिङ सेन्टरमा आउनु आबश्यक भएपनि, सडकको पहुँच नहुँदा जोखिम मोलेरै दुर्गमका महिला घरमै सुत्केरी हुन बाध्य छन् ।

भौगोलिक विकटताका कारण गाउँगाउँमा गएर परामर्श दिन पनि नसकिएको स्वास्थ्य चौकीले बताएको छ । यता तातोपानी गाउँपालिकाले चालु आवमा एम्बुलेन्स खरिदका लागि योजना लिए पनि बजेट छुटाएन । आगामी आवमा एम्बुलेन्स संचालन गर्ने अध्यक्ष नवराज न्यौपानको भनाई छ । सडक निर्माणमा जोड दिएका छौ न्यौपानेले भने ।

टोप्ला जोड्ने त्रिबेणी पुल दशकदेखि नबन्दा त्यहाँ सवारी संचालनमा समस्या भएको उनले बताए । ठुला योजना संचालन गर्ने गाउँपालिकाको बजेट नभ्याउने र राष्ट्यि योजना अन्तरगर्त बन्ने योजना समयमै नबन्दा समस्या छ उपाध्यक्ष गंगादेवि उपाध्यायले बताईन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button