२०७८ साल साउन १३ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न जोड

रेडियो नेपाल २०७६ असोज १० गते १४:१४

 

लुम्बिनी। भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेशका लागि पहल गर्न यहाँका स्थानीय तथा सरोकारवालाले नेपाल सरकारसँग माग गरेका छन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीपछि दोस्रो महत्वपूर्णस्थलका रुपमा रहेको रामग्राम क्षेत्रमा आवश्यक विकासका पूर्वाधार अभावमा ओझेलमा परेकाले नेपाल सरकारले पहिलो प्राथमिकता दिएर विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा जोड दिइएको हो । विश्व सम्पदामा सूचीकृत भएपछि यहाँको विकासले फड्को मार्ने विश्वास उनीहरुको छ ।

विश्व पर्यटन दिवसका अवसरमा पश्चिम नवलपरासीको रामग्राम स्तूपमा नेपाल पर्यटन पत्रकार महासङ्घ जिल्ला शाखा नवलपरासीले आज आयोजना गरेको ‘रामग्राम स्तूपको विकास र पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले उक्त कुरामा जोड दिएका हुन् ।

रामग्राम स्तूपको विकास, संरक्षण र प्रवद्र्धन गर्ने अधिकार लुम्बिनी विकास कोषलाई रहेकोे छ । कोषले यहाँ अन्य निकायलाई कुनै पनि विकासका काम गर्न रोक लगाएकाले नगरपालिकाले स्तूपको देश विदेशमा प्रवद्र्धन गर्ने र स्तूप क्षेत्रभन्दा बाहिरको भागमा अन्य संरचना निर्माणमा जोड दिइरहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनुभयो ।

“बुद्ध धर्मावलम्बीले गौतमबुद्ध जीवितै रहेको स्थल भनेर महत्वका साथ मान्दै आएको यो स्थल हाम्रो मात्रै होइन अन्तरराष्ट्रिय सम्पत्ति हो, यसलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएर विश्वसम्पदा सूचीमा समावेश गर्नुपर्छ”, प्रमुख गुप्ताले भन्नुभयो ।

यहाँको आवश्यक विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएर लागिरहेको बताउँदै नगर प्रमुख गुप्ताले आफू चीन, कोरिया लगायतका देशमा पुगेर रामग्रामको प्रचार गर्दै यहाँ भ्रमण गर्न निम्तो पनि दिने गरेको बताउनुभयो । स्तूप क्षेत्रमा अहिले प्रदेश ५ सरकारको लगानी र रामग्राम नगरपालिकाको सहयोगमा बौद्ध सङ्ग्रहालय निर्माणको प्रक्रिया शुरु भएको र त्यसका लागि स्तूपको उत्तरतर्फको १० विघा जग्गा पहिचान गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नजिकै पर्यटकलाई लक्षित गरेर विश्राम गृह पनि बनिरहेको छ, लुम्बिनी विकास कोषले स्तूपको विकासका लागि गुरुयोजना बनाएर हामीलाई हस्तान्तरण पनि गरेको छ, अब तीनै तहका सरकारले आवश्यक बजेट विनियोजन गरेर गुरुयोजनाअनुसार यहाँको विकासलाई अघि बढाउदँैछौँ ।”

यहाँको विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र, सञ्चारजगत सबै मिलेर दबाबमूलक कार्यक्रम गर्न आवश्यक रहेको जोड दिँदै नगरप्रमुख गुप्ताले रामग्राम स्तूपमा अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना गर्ने र लगानी भित्र्याउने तयारी पनि भइरहेको जानकारी दिनुभयो ।

रामग्राम स्तूपको तीव्ररुपमा विकास हुन विश्वसम्पदा सूचीमा समावेश हुनुपर्ने नै प्रमुख शर्त रहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताउनुभयो । “नेपाल सरकारले रामग्राम, तिलौराकोट र जानकी मन्दिरलाई अहिले विश्वसम्पदा सूचीमा समावेश गर्न लागेको हामीले सुनेका छौँ, त्यसमा पहिलो प्राथमिकता रामग्रामलाई दिनुपर्छ”, उहाँले भन्नुभयो ।

“पर्यटक आउँदा यातायात, होटल, प्राथनास्थल, शौचालय लगायतका पूर्वाधार आवश्यक पर्छ, ती पूर्वाधार यहाँ अझै हुन सकेको छैन”, अध्यक्ष भण्डारीले भन्नुभयो, “लुम्बिनी विकास कोषले लुम्बिनीलाई केन्द्रमा राखेर विकास गर्दा यहाँसम्म बजेट आउन सकेको छैन, रामग्रामका लागि वर्षेनी निश्चित बजेट विनियोजनको व्यवस्था गर्नुपर्छ ।”

नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारीले स्तूपको प्रचारप्रसारमा सञ्चारजगत क्रियाशील रहेको र अहिले स्थानीय, प्रदेश र सङ्घ तीनै तहका सरकारको यसतर्फ ध्यान गएको बताउनुभयो । बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तूपमध्ये उत्खनन् नभई अस्तु सुरक्षित रहेको एकमात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ ।

बौद्ध ग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थि धातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

मोतीको दानामय अस्थि धातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थि धातु राखी आठ वटा स्तूप निर्माण गरिएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ । रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृत्तान्तमा यसबारे वर्णन गरेका छन् ।

प्रदेश सरकार लुम्बिनी भ्रमण वर्षका अवसरमा रामग्रामलाई उच्च महत्व दिएर यसको प्रवद्र्धनमा लागेको हो । सन् १९९९ देखि २००२ सम्म स्तूप वरिपरि उत्खनन गरिएकामा त्यसपछि लामो समयसम्म यहाँ थप उत्खनन हुन सकेको छैन ।

उत्खननका क्रममा मौर्यकालदेखिका इँटाका विभिन्न खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रङका माटाका भाँडावर्तनका टुक्रा, बालाका टुक्रा, माटाका मूर्ति, धातुका रड, बहुमूल्य पत्थर, जनावरका बङ्गारा, मानव अस्थिपञ्जरका साथै कला र अस्मिभूतका अवशेष भेटिएका थिए । रासस

सम्बन्धित