तपाईँ सुन्दै हुनुहुन्छः

५ जना प्रहरी घुस लिँदा लिँदै पक्राउ

बनेपा । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे मातहत कार्यरत ५ जना प्रहरी घुस लिँदा लिँदै पक्राउ परेका छन् । मेलम्चीदेखि काठमाडौंतर्फ बालुवा लिएर आउने टिप्परहरुबाट लिएको घुस रकमसहित ५ जना प्रहरी कर्मचारी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काभ्रेको हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेज प्रसाद भट्टराई २ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

यस्तै, प्रहरी चौकी हिगुवापेटीको बिटबाट प्रहरी चौकी पाँचखालको मोटरसाइकल गस्ती गर्ने प्रहरी हवाल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामागादे २ हजार घुससहित पक्राउ परेका छन् ।

यस्तै बनेपास्थित ट्राफिक प्रहरीको पोस्टमा कार्यरत प्रहरी जवान हरिचन्द बानियाँ र प्रहरी हवल्दार रामहरी मानन्धर पनि २ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

कूल गरेर ५ जना प्रहरी कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button