२०७८ साल कार्तिक ९ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँदरले सताएपछि व्यावसायिक बेसार खेती शुरु

रेडियो नेपाल २०७६ साउन १७ गते १३:१८

पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गर्नुभएको छ ।

बाँझिएका सबै जमीनमा बेसार लगाएर ढाक्ने उहाँको योजना छ । “बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजैसँग बिक्री भइहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो”, उहाँले भन्नुभयो । वडाले आव ०७५÷०७६ को रु तीन लाख बजेटबाट ३५ क्विण्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो । “बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो ।

बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उहाँको भनाइ छ । बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती शुरु गरेको सावित्रा पङ्गेनी बताउनुहुन्छ । मकैको तुलनामा दोब्बरतेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती शुरु गर्न थालेको उहाँको भनाइ छ । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमीन अहिले बेसारले हराभरा बनेका छन् । परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हँुदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडासचिव गीता पौडेलले बताउनुभयो । बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफूल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले बस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् । बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पङ्गेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आउनुभएको छ । वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करीब दुई रोपनी क्षेत्रफलमा उहाँले बेसार लगाउनुभएको छ । अर्को वर्ष बाँझिन पुगेका पूरै जग्गाभरि नै बेसार लगाउने उहाँको सोच छ ।

 

 

 

 

 

 

सम्बन्धित