तपाईँ सुन्दै हुनुहुन्छः

चामलको आयात वृद्धि हुँदै

काठमाडौं । नेपालगञ्ज भन्सारबाट नेपालमा आयात हुने वस्तुहरुमध्ये चामलको आयात क्रमशः वृद्धि हुदै गएको छ ।

चालू आव २०७५–७६ को जेठ मसान्तसम्म ११ करोड ५७ लाख ५७ हजार ५०३ केजी चामल नेपालगञ्ज भन्सार कार्यालयबाट भित्रिएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा आठ करोड २७ लाख ८४ हजार २४५ केजी चामल नेपालगञ्ज नाका भएर भित्रिएको थियो ।

भन्सारमा राजश्व नतिरी घरका लागि भन्दै चामल ल्याउनेको सङ्ख्या पनि ठूलो रहेको छ । जसको तथ्याङ्क नै छैन ।

नेपालगञ्ज भन्सार कार्यालयबाट सबैभन्दा बढी राजश्व पेट्रोलियम पदार्थको आयातबाट संकलन हुने गर्छ । भन्सारले डिजेलबाट दुई अर्ब ९३ करोड ६८ लाख ५३ हजार असुल गरेको छ ।

त्यस्तै पेट्रोलबाट एक अर्ब २६ करोड २४ लाख ४१ हजार, एलपी ग्यासबाट ४८ करोड ३७ लाख ९८ हजार असुल गरेको छ ।

यो तथ्याङ्कले चामलमा पैठारी धेरै देखिएको र चामलको राजश्व बढ्दै गएको र नेपाली उत्पादन निकै थोरै मात्रामा भारतमा निर्यात हुने गरेको नेपालगञ्ज भन्सार कार्यालयका निमित्त प्रमुख शरदकुमार केसीले बताउनु भयो ।

नेपालगञ्ज भन्सारको बाटो भएर तेस्रो मुलुकबाट अल्मोनियम स्क्रेप, कपर स्क्रेप, प्लाष्टिक, दानालगायतका वस्तुहरु पैठारी हुन्छन् ।

भारत निकासी हुने वस्तुहरुमा खयर कत्था, जडिबुटी, अदुवा, सुठो आदि पर्दछन् भने तेस्रो मुलुक निकासी हुने वस्तुहरु गहुँको पीठो, भैंसीको मासु, जटामसी आदि रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button