तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना हुने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शलले बढ्दो व्यापार घाटा न्यून गर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउने उद्देश्यले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० को समयमा हुने एक्स्पोले भ्रमण वर्षलाई सफल बनाउन थप सहयोग गर्ने बताउनुभयो ।

आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने सो मेलाबाट अन्तर्रा्ष्ट्रिय प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

मेलाले व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने छ ।

यान्त्रिक तथा उपकरणको बृहत् प्रदर्शनीलाई समेट्ने मेलामा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोग मिल्ने चेम्बरले विश्वास लिएको छ ।

मेलामा १ सय ५० भन्दाबढी प्रदर्शनी कक्ष रहने छन् । मेलामा ९० वटा राष्ट्रिय एवं अन्तर्रा्ष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागितामा १ सय ५० भन्दा बढी प्रदर्शनी कक्ष रहने चेम्बरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button