२०७८ साल असोज ७ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण शुरु

रेडियो नेपाल २०७६ असार १५ गते ७:१२

खोटाङ-दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम शुरु गरिएको हो ।

याम्खादेखि मनमाया राई खानीडाँडा विमानस्थल जोड्ने सडकखण्डमा पर्ने मोटरेबल पक्की पुल विसं २०७८ जेठ १७ गते सम्पन्न गर्नेगरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको छ । रु पाँच करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लागेको पुल ४० मिटर लामोे हुनेछ । प्रिस्ट्रेस बिम पुल बिममा तार घुसाई तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल भएको निर्माण कम्पनीका प्रतिनिधि हरिप्रसाद बरालले बताउनुभयो ।

साप्सुखोलामा निर्माणाधीन प्रिस्ट्रेस बिम पुल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो मार्गमा पर्दछ । पुल निर्माणका लागि विसं २०७६ जेठ १७ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको थियो ।

विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र खानीडाँडा विमानस्थललाई जोड्ने गरी स्थानीय सडक पुल कार्यक्रम (एलआरविपी) को प्राविधिक सहयोगमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो ।

साप्सुखोलामा निर्माणाधीन पक्की पुल निर्माणमा ढिलासुस्ती नगर्न स्थानीयवासीले ठेकेदार कम्पनीलाई सुझाएका छन् । निर्माणाधीन पुलका विषयमा गत असार ११ गते आयोजित सार्वजानिक सुनुवाइ कार्यक्रमका सहभागीले तोकिएको समयमा सम्पन्न गर्न खबरदारी गर्दै गुणस्तरमा समेत ख्याल गर्न सुझाव दिएका हुन् । वर्षा लागेसँगै पानीको बहाव बढ्ने र बाढीका कारण तर्न नसकिने साप्सुखोलामा पक्की पुल बन्ने भएपछि दक्षिणी क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

साप्सुखोलामा पुल नहुँदा उक्त सडक हिउँदमा मात्र सञ्चालन हुने गरेको छ । तराईका जिल्ला जोड्ने सडकसमेत रहेको दक्षिणी क्षेत्रमा पर्ने साप्सुखोलामा योसँगै दुई पक्की पुल निर्माणाधीन अवस्थामा छ । सगरमाथा राजमार्गमा पर्ने रेग्मीटारस्थित साप्सुखोलामा निर्माण गरिएको पुल हालै सञ्चालनमा आएको छ भने दिक्तेल र मात्तिम जोड्ने पुल निर्माणाधीन अवस्थामा रहेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमको सिमानामा पर्ने साप्सुखोलाको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीले जनाएको छ । उक्त ठाउँमा पुल नहुँदा ११ वर्षअघि निर्माण सम्पन्न गरिएको हरित सडक उपयोगविहीन बनेको छ ।

सम्बन्धित