तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा सुदृढ बैंकिङ प्रणाली: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दक्षिण एशियामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको जानकारी गराउनु भएको हो ।

पुँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा राम्रो रहेको अर्थमन्त्रीले उल्लेख गर्नु भयो ।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्षभित्र कोष १० अर्ब पुर्याउने बताउदै निक्षेपको बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा पनि जोड दिनु भयोे ।

कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौ महिनामा २ अर्ब मुनाफा आर्जन गर्न सफल भएको बताउनु भयो ।

कोषको भवनको निर्माणका लागि करिव ६ करोड ६९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button