तपाईँ सुन्दै हुनुहुन्छः

‘धितोपत्र बोर्डले प्रभावकारी भूमिका खेल्नु आवश्यक’

भुवनप्रसाद आचार्य । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई मौद्रिक नीतिमा हुने परिवर्तनको प्रभावबाट मुक्त गर्ने कदम चाल्न धितोपत्र बोर्डले प्रभावकारी भूमिका खेल्नु आवश्यक भएको बताउनु भएको छ ।

नेपाल धितोपत्र बोर्डको २७ औ वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा खतिवडाले लामो समयदेखि धितोपत्र बोर्ड छाँयामा परेकोले नेपाल धितोपत्र बोर्डले कुनै पनि निकायबाट प्रभावित नभै नियामक निकायको रुपमा स्वतन्त्र ढंगले काम गर्नुपर्ने बताउनु भयो ।

सरकारले नेपाल धितोपत्र बोर्डलाई अझ बढी स्वतन्त्र, स्वायत्त र व्यवसायिक बनाउन नयाँ ऐन ल्याउन लागेको र समग्र धितोपत्र बजारको विकासका लागि आगामी बजेट मार्फत सुधारका विभिन्न कार्यक्रमहरु अघि सारेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डले धितोपत्र बजारको कारोबारलाई सहज बनाउन लगानीकर्ताहरु बीच चेतना अभिवृद्धिका लागि देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपालको पूँजी बजारले फड्को मारेको र लगानीकर्ताहरुले इन्टरनेटको माध्यमबाट अनलाइन कारोबार गर्ने व्यवस्था भएको बताउनु भयो ।

कार्यक्रममा आइक्यानका अध्यक्ष जगन्ननाथ उपाध्याय, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, पत्रकार कुवेर चालिसे, नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोर लगायतले नियामक निकायको रुपमा धितोपत्र बार्डले आगामी दिनमा थप क्रियाशील हुनु पर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button