तपाईँ सुन्दै हुनुहुन्छः

महाकालीमा पुलको काम ३५ प्रतिशत सम्पन्न

भीमदत्तनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु धमाधम निर्माण भइरहेका छन् ।

केही समय मुआब्जा विवादका कारण पहुँच मार्ग निर्माणमा अवरोध भए पनि उक्त विवाद टुङ्गिएसँगै निर्माण कम्पनीले सडक निर्माण तीव्र रुपमा गरिरहेको छ । महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले नदीमा समय समयमा पानीको मात्रा घटबढ हुँदा पुल निर्माणमा बाधा पुग्ने गरेको बताउनुभयो ।

आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारको लागतमा निर्माण भइरहेको पुल तीन वर्षभित्र सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो ।

पुल निर्माणको शुरुआतमा केही समस्या भएका कारण निर्माणको अविधी थप हुन सक्ने सम्भावना छ । कञ्चनपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले महाकाली नदीको पुललाई सुदूरपश्चिम प्रदेशको विकासको ढोकाको रुपमा हेरिएको बताउनुभयो ।

पुल बनेपछि भारतको पञ्जाव, हरियाणा, दिल्ली, उत्तरप्रदेशलगायत राज्यसँग सहकार्य गर्न मद्दत पुग्ने अध्यक्ष मल्ल बताउनुहुन्छ । सहज रूपमा वस्तु आयात–निर्यात गर्न सहज हुनेछ । पुल निर्माण ‘कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्सट्रक्सन कम्पनी (सिएफसी)को संयुक्त सहकार्यमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button