तपाईँ सुन्दै हुनुहुन्छः

सेजमा विशेष सुविधा हुनुपर्नेमा जोड

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीले निर्यात व्यापार बढाउन र औद्योगिकीकरणको तीव्र विकासका लागि विशेष आर्थिक क्षेत्र (सेज) मा विशेष सुविधा हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले सेजमा आवश्यक पूर्वाधार, परियोजना, ऋण, कच्चा पदार्थ स्वदेशमै उपलब्धता लगायतका सुविधा हुनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले मुलुकको निर्यात बढाउन र औद्योगिकीकरणमा सेजको महत्व दर्शाउँदै सरकारले सेजलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।

पूर्वसचिव पुरुषोत्तम ओझा, अर्का पूर्वसचिव विमल वाग्ले लगायतका वक्ताले सिफारिश भएको झण्डै २० वर्षपछि सिमरामा ‘गार्मेन्ट प्रशोधन विशेष क्षेत्र’ सञ्चालनमा आउन लागेकामा खुशी व्यक्त गर्दै सेजमा आउने कानूनी र अन्य समस्या समाधान गर्न सरकारले ‘द्रुतमार्ग संयन्त्र’ निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले निर्यातमुखी उद्योग र व्यापार प्रवर्द्धन गर्ने सरकारको नीति रहेकाले सेज व्यवस्थापनमा सरकारले निजी क्षेत्रसँग सहजीकरण गरेर अघि बढ्ने जानकारी दिनुभयो ।

हालसम्म भैरहवामा सेज सञ्चालनमा आएको छ भने सिमरामा गार्मेन्ट प्रशोधन क्षेत्रको सञ्चालनको तयारी भइरहेको छ ।

त्यसैगरी पाँचखालमा सेज स्थापना शुरु भएको, विराटनगर, सिराहा र जुम्लामा विस्तृत अध्ययन कार्य सम्पन्न भएको, गौरमा विस्तृत अध्ययन कार्य हँुदै गरेको र नुवाकोट, गोरखा, धनगढी, नेपालगञ्जमा, सम्भाव्यता अध्ययनका क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button