तपाईँ सुन्दै हुनुहुन्छः

पहिलोपटक लप्ची पुग्यो सरकारी टोली

दोलखा (लप्ची) । दोलखाको अति नै विकट हिमाली गाउँ लप्चीमा पहिलोपटक संघीय सरकारका प्रतिनिधि पुगेका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल लामाबगरबाट दुई दिनको पैदलयात्रापछि पुगिने हिमाली गाउँ लप्चीमा पहिलोपटक सरकारी टोली पुगेको भन्दै स्थानीयहरु निकै हर्षित भएका छन् । जिल्लाका अन्य भू–भागको तुलनामा छुट्टै क्षेत्रजस्तो महसुस हुने लप्ची न्युनतम विकासको पुर्वाधार समेत नहुँदा स्थानीयले सरकारी टोलीसँग निकै दुखेसो पोखेका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा लप्ची पुगेको सरकारी टोलीलाई स्थानीयले कम्तीमा बिरामी हुँदा सिटामोलको व्यवस्था गरिदिन माग गरेका छन् । लामाबगरबाट ४० किलोमिटर सुदुर उत्तरतर्फ पर्ने उक्त गाउँमा अहिलेसम्म स्वास्थ्य चौकी नै छैन् । सामान्य बिरामी हुँदा सिटामोल समेत खान नपाएको गुनासो लप्चीबासीको छ । स्थानीय कुन्जोक शेर्पाले आफुहरुलाई सरकारले अर्कै देशको नागरिक सरह व्यबहार गरेको गुनासो गर्नुभयो । उहाँले, लप्चीमा अहिलेसम्म टेलिफोनको सुविधा नहुनु, खाद्यान्न, स्वास्थ्य, शिक्षा जस्ता आधारभुत आवश्यकताहरुको परिपुर्ति नगराएर सरकारले उपल्लो दर्जाको नागरिक सरह व्यवहार गरेको दुखेसो गर्नुभयो ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय दोलखाले आयोजना गरेको वन्यजन्तु अपराध नियन्त्रण गस्तीमा सहभागी हुन लप्ची पुगेको सरकारी टोलीलाई स्थानीयहरुले गाउँमा न्युनतम विकासका पुर्वाधारको विकास गरिदिन आग्रह गरेका हुन् । जवाफमा दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले लप्ची साँच्चै ढुंगे युगकै अवस्थामा रहेकोले आफु निकै भाबुक भएको बताउनुभयो । उहाँले, नेपालको कर्णाली क्षेत्र भन्दा पनि बिकट अवस्थामा रहेको लप्चीलाई न्युनतम विकासका पुर्वाधार सम्पन्न बनाउन आफु सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । प्रजिअ रिजालले तत्काल सञ्चार क्षेत्रको विकासका लागि टेलिकम सँग समन्वय गरि टावर निर्माण गर्न लागि पर्ने जनाउनुभएको छ । उहाँले स्थानीय सरकारसँग समन्वय गरि स्वास्थ्य चौकी निर्माणका लागि पनि तत्कालनै पहल गर्ने बताउनुभयो ।

हिउँद र बर्षात्को समयमा छुट्टाछुट्टै बसोबास गर्ने लप्चीबासी हिउँद लागेपछि लुम्नाङ झर्छन् । ४२ सय मिटरको उचाई रहेको लप्चीमा ३५ घर परिवारको बसोबास छ । तर लप्चीमा केही पनि खाद्यान्न उत्पादन हुदैन । लुम्नाङमा भने आलु मात्रै उत्पादन हुन्छ । त्यो पनि रातो बाँदरले वषर््ोनी क्षती गर्दै आएको ६१ वर्षीय पेम्बा शेर्पाको गुनासो छ । सो गाउँमा हरेक वर्ष खाद्यान्न संकट हुने गरेको अर्का स्थानीय कर्मा शेर्पाले जानकारी दिनुभयो । लामाबगरबाट लप्ची एक केजी सामान ढुवानी गर्दा एक रुपैंया लाग्ने गरेको स्थानीयहरुको भनाई छ ।

स्थानीय सरकारको खाद्यन्न सहयोग

वर्षात सुरु भएसँगै लप्ची प्रवेश गर्ने बाटोसमेत अवरुद्ध हुने गर्छ । असारदेखि असोजसम्म खाद्यन्न अभाव हुने भएपछि केही दिन अघि मात्रै बिगु गाउँपालिकाले २५ क्विन्टल चामल सहयोग गरेको छ । बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीब ओलीले वर्षात् सुरुभएसँगै खाद्यन्न अभाब नहोस भनेर पालिकाले चाम , नुन र दाल उपलब्ध गराएको जानकारी दिनुभयो ।
फोटो
लप्ची पुगेका दोलखाका प्रमुख जिल्ला अधिकारीसँगै अन्य सरकारी पदाधिकारीसँग दुखेसो पोख्दै दोलखाको विगु गाउँपालिका १ को हिमाली गाउँ लप्चीका स्थानीय ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button