तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा प्रदेश स्तरीय लगानी सम्मलेन शुरु

शिशिर सिंखडा चितवन । प्रदेश ३ को विकासका लागि लगानी जुटाउने उद्देश्यले शुक्रवारदेखि चितवनको भरतपुरमा प्रदेश स्तरीय लगानी सम्मलेन शुरु भएको छ ।

शनिवारसम्म चल्ने सम्मेलनको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नुभयो ।

सम्मेलनमा प्रदेश ३ को सम्भावना र त्यहाँ हुने लगानीको क्षेत्रको विषयमा वृहत छलफल तथा अन्तरक्रिया हुने र त्यसले प्रदेशको विकासको लागि आधारशीला तय गर्ने प्रदेश ३ योजना आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देवकोटाले बताउनुभयो ।

सम्मेलनबाट ‘प्रदेश नम्वर ३ मा पूर्वाधार, उद्योग, कृषि, पर्यटन, सेवा उद्योग लगायतमा लगानीका सम्भावना पहिचान गरी नीजि क्षेत्रलाई लगानीको लागि आह्वान गरिने ३ नं प्रदेश योजना आयोगले जनाएको छ ।

कार्यक्रममा प्रदेश योजना आयोगले प्रस्तुत गरेको विकासको आधारपत्रमा आगामी ५ वर्षमा औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रतिव्यक्ति आय चार लाख पाँच हजार पुग्ने प्रस्ताव गरिएको छ ।

पाँच वर्षे योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्व आवश्यक हुने आधारपत्रले प्रक्षेपण गरेको छ ।

सम्मेलनमा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत, प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, प्रतिनिधि सभामा त्यस प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरु, प्रदेश सभाका साँसदहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button