तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा गाउँ पिच्छे पहिरो

 पर्वत । अविरल वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा बस्ती छियाछिया भएका छन् । फलेवासको मुडिकुवा, चुरी, शंकरपोखरी, कुर्घा, कुश्मा नगरपालिकाको खुर्कोट, दुर्लुङ, पकुवा लगायतका गाउँमा ठूलठुला पहिरो झरेको छ । कतिपयको घर भत्किएको छ भने यो साता मुडिकुवामा एक बालिकाको पहिरोले पुरिएर मृत्यु समेत भएको छ । फलेवास ४ चुरीमा जमिन धाजा फाटेपछि १४ घर परिवार जोखिममा छन् । स्थानीय अमृत तिवारीका अनुसार ठूलो वर्षाले झनै जमिन बग्ने समस्या देखिन थालेको छ । रात्माटा, सिर्सुवा देखि शंकरपोखरी निस्कने मुल बाटो र नारायणदत्त तिवारीको घर नजिकैबाट लेते बग्न थालेको तिवारीले बताउनुभयो ।

तत्काल बस्ती स्थानान्तरण नगरे भविष्यमा ठूलो क्षती हुने अनुमान गर्दै स्थानीयले बस्ती स्थानान्तरण गर्नुपर्ने माग गरेका छन् । जलस्रोत तथा सिँचाई कार्यालयका अनुसार चुरी र सिर्सुवामा ४० ठाउँमा भूक्षय भइ खोलामा बाढी आएको छ । तल्काल भूक्षय नियन्त्रण गर्न सक्ने अवस्था नदेखिएकोले चुरी स्यानिस्वार बस्तीका १५ घर, दलित बस्तिका ४ घर र रातामाटाका ९ घर उच्च जोखिममा रहेको जनाएको छ । अविरल बर्षा सगै खोलामा पुन बाढी आउने जोखिम उत्तिकै रहेको हुँदा सिर्सुवाका खोला नजिकका घरधुरीलाई सुरक्षीत ठाउँमा गई बस्न अनुरोध गरिएको कार्यालय प्रमुख थलवहादुर तामाङले बताउनुभयो ।


गतवर्ष गाउँमा खनिएको सडकका कारण पनि थप जोखिम बढेको छ । शंकपोखरीमा पनि पुर्कोटको बस्ती जोखिममा परेको छ । केहि दिन अगाडी घरमुनीको जमिन भत्केपछि जोखिममा रहेको बस्तीका बासिन्दा गएराती ठूलो वर्षा हुँदा रातभर जाग्राम बसेको स्थानीय पूर्णबहादुर दर्जीले जानकारी दिए । फलेवासको कुर्घामा पनि बस्ती परिपरिबाट पहिरो झर्न थालेको छ । कुर्घाको उल्लेरी गाउँमा पहिरोले खेत पुरिएको छ । जंगलबाट पहिरो झरेर खेत पुरिएको र बस्तीमा पनि जोखिम बढाएको वडाध्यक्ष शालिग्राम पाध्याले जानकारी दिए । फलेवासकै शंकरपोखरी स्थित सिमखेतमा पनि केहि घर जोखिममा परेका छन् । गणेश टोल विकास समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले स्थानीय विष्णुप्रसाद गौतमको घर जोखिममा रहेपछि घरका परिवारलाई स्थान्तरण गरिएको जानकारी दिनुभयो ।


कुश्मा नगरपालिका २ खुर्कोटमा अविरल वर्षाका कारण वस्तीमा पहिरोको जोखिम बढेको छ । कुस्माको छमर्केबाट छिपछिपे हुँदै कोटगाउँ पुग्ने सडक चौडा बनाउने क्रममा धेरै ठाउँमा बस्ती नै जोखिममा परेको छ भने कम्तीमा ५० परिवार बिस्थापित बन्न पुगेका छन । केही दिन देखि आएको भारी बर्षाका कारण सडकमा ठुलो बाढी आउँदा बस्तीमा पसेपछि घर भत्कने, पुरिने देखि धेरै ठाउँमा बस्ती नै बग्ने गरि पहिरो गएको हो । भिरालो जमिनमा चौडा सडक बनेका कारण बस्तीका धेरै ठाउँमा पहिरो गएको स्थानियबासीले बताएका छन ।

‘सडक पनि चाहिएको छ, पक्की सडक बनाउने क्रममा बर्षाका कारण बाढी र पहिरोले धेरै बस्ती जोखिममा परे,’ तत्कालिन खुर्कोट गाबिसका अध्यक्ष मिनबहादुर रेग्मीले भन्नुभयो,‘बस्ती पनि संरक्षण हुने र सडक बिस्तारको काम पनि संगसंगै गर्न आवश्यक छ ।’ बाढी र पहिरोको कारण पाथ्रे ढुंगा, गहते, खाल्टा, खत्रीटोल, कोटगाउँ लगायतका बस्तीहरु जोखिममा छन् । बाढी र पहिरोका कारण खुर्कोटको पाथ्रे ढुंगाको दलित बस्ती सबैभन्दा उच्च जोखिममा परेको छ ।

यो बस्तीका ३६ भन्दा धेरै घर जुनसुकै बेला पनि पहिरोमा बग्न सक्ने खतरा देखिएको छ । संघीय साँसद पदम गिरी सहितको टोलीले खुर्कोटको पहिरो प्रभावित क्षेत्रको अनुगमन गरि तत्काल बस्ती संरक्षणको पहल गर्ने आश्वसन दिएको छ । गिरीले पानीको निकास दिने र बस्तीमा पहिरो आउन नदिन जैविक विधि मार्फत संरक्षणको पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताउनुभएको छ । कुश्मा नगरपालिका ११ पकुवामा पहिरोका कारण स्थानीयको घरआँगन सबै भत्किएको छ । स्थानीय दलित समूदायको वस्तीमा सबैभन्दा बढि क्षती भएको छ । भिरालो रहेको बस्तीमा चारैतिर बाट पहिरोले घेर्दा स्थानीय त्रसित भएका छन् ।

कतिपयको छाना चुहिएर घरको भित्तो समेत भत्किएको छ ।पुछारथुम्काका लेखबहादुर नेपाली, मानडाँडाका डिल्लु नेपाली, बिनोद नेपाली र आनन्द नेपाली, स्कुल नजिकैका रणेबहादुर नेपाली , मानडाँडाकै मिठू नेपाली, हरिबहादुर नेपाली तथा काउलेका हरि सुबेदी र जयप्रसाद सुबेदीको घर वरिपरि पहिरोले घेरिएको छ । स्थानीयका अनुसार पहिरोले सामान्य क्षती नभएका कुनै घर नै छैनन् । नगरपालिकाको एक टोलीले बाढि पीडितको अवस्थाको बारेमा स्थलगत रुपमा अनुगमन गरेको छ ।

अनुगमनमा पुग्नुभएका नगरप्रमुख रामचन्द्र जोशीले बाढी पहिरोको रोकथाम, वस्ती संरक्षण र तत्कालका लागि आवश्यक राहातका लागि नगरपालिकाले पहल गर्ने आश्वसन दिनुभएको छ । जोशीले पहिरोले कृषि क्षेत्रमा पुगेको क्षती मुल्यांकन गर्न कृषि प्राविधिक, घरको क्षती मुल्याकंन गर्न ईन्जिनियर सहितको टोली परिचालन गरिसकेको बताउनुभयो ।

पहिरोले स्थानीय रामप्रसाद पौडेल, भगवती पौडले, छविलाल पौडेल, केशव पौडेल लगायतको धान फलिरहेको उव्जाउ खेत पुरिएको छ । स्यानीपोखरी प्रावि समेत पहिरोको जोखिममा रहेको छ । पर्वतमा यो वर्खामा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button