तपाईँ सुन्दै हुनुहुन्छः

आयो नुनको खपत बढ्दै

विराटनगर । प्रदेश १ का १४ जिल्ला र प्रदेश २ का सिराहा र सप्तरी जिल्ला सहित १६ जिल्लामा आयो नुनको प्रयोग बढेको छ । दक्षिण सीमावर्ती क्षेत्रका बासिन्दाले समेत ढिक्के नुनको साटो अहिले आयोडिनयुक्त आयो नुन प्रयोग गर्न थालेपछि नुनको खपत बढेको हो ।

विराटनगरस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षमा ५९ हजार सात सय २६ मेट्रिक टन आयो नुन बिक्री गरेको छ । कार्यालयले प्रदेश १ का १४ वटा जिल्ला तथा प्रदेश २ का सिराहा र सप्तरी जिल्लामा आयोनुन बिक्री गरेको हो ।

स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिने आयो नुनको माग बढेकाले सो परिमाणका नुन खपत भएको कार्यालय प्रमुख राधेश्याम चौधरीले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष कार्यालयले ५५ हजार दुई सय ६५ मेट्रिक टन नुन खरिद गरेको थियो ।

कार्यालयसँग अघिल्लो आर्थीकवर्षको १७ हजार पाँच सय मेट्रिक टन नुन मौजाद थियो । कार्यालयसँग अहिले पनि आठ महिनालाई पुग्ने नुन मौजाद रहेको छ ।

विराटनगरस्थित कार्यालयमा २५ हजार तीन सय मेट्रिक टन नुन मौजाद रहेको छ । विराटनगर बाहेक बिर्तामोड, लहान तथा राजविराजस्थित कार्यालयमा नुन मौजाद रहेको चौधरीले  बताउनुभयो । लकडाउनमा पनि नुन आइरहेकाले नुनको अभाव नरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button