तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, दुई बेपत्ता

तनहुँ । रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा १० जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोमा परेर दुई जना बेपत्ता भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिकामा एक जना र व्यास नगरपालिकामा चार जना, ऋषिङ गाउँपालिकामा पाँच जना गरी अहिलेसम्म कुल १० जनाको मृत्यु भएको छ ।त्यस्तै व्यास नगरपालिकामा दुर्ई जना बेपत्ता भएका छन् ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १५ वर्षीय लक्ष्मी विकको मृत्यु भएको म्याग्दे–६ का वडा अध्यक्ष बसन थापाले जानकारी दिनुभयो । ‘पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएछन्’, वडाध्यक्ष थापाले भन्नुभयो, ‘भाग्न नपाउँदै पुरिएर एक जनाको ज्यान गयो ।’

यसै गरी व्यास नगरपालिका–९ माझफाटमा पहिरोले पुरिएर एक जना ७० वर्षीया बृद्धाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको व्यास–९ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो ।

त्यस्तै सोही स्थानका अन्य तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–९ माझफाटका कमला थापा, उनका ठुलो छोरा मदन थापा, बुहारी अन्जना थापा रहेको घटनास्थलबाट स्थानीय हरि बहादुर थापाले जानकारी दिनुभयो ।

एक जना अन्दाजी ५० वर्षीय केशव थापाको उद्धार गरेर अस्पताल पठाइएको छ भने उनका कान्छा छोरा राजेश थापा अझै बेपत्ता रहेको र खोजी हुँदै गरेको स्थानीय हरि बहादुर थापा जानकारी दिनुभयो ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना मृत्यु भएको छ ।

राती १ः०० बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाएको हो ।


पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार आन बहादुरका अन्दाजी ३० वर्षका छोरा भेष बहादुर थापा, ३० वर्षीय बुहारी नानुमाया थापा र पाँच वर्षकी नातिनी अमिसा थापासँगै अर्का छोरा २२ वर्षका महादेव थापा र बुहारी मनिसा थापाको मृत्यु भएको गाउँपालिका अध्यक्ष श्रेष्ठ जानकारी दिनुभयो । भेष बहादुर थापाको शव निकालिएको र अन्यको निकाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठ बताउनुभयो ।

घाइते आन बहादुर थापाकी श्रीमती ५८ वर्षिया ज्योति थापालाई उपचारको लागि पोखरा पठाइएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । श्रृंग पथको एक दर्जन बढी स्थानमा पहिरो खसेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बेपत्ता हुनेमा व्यास–९ माझफाटको पहिरोमा पुरिएका राजेश थापा र व्यास–११ राम्चे ओडारेका पदम चेपाङ रहेका छन् । उनीहरू खोजी भइरहेको जनाइएको छ ।

यस्तै, म्याग्दे खोलाले तुरतुरेमा एक घर बगाएको छ । जनजागृति मोटर मार्गको मोटरेवल पुल पनि भासिएको छ ।

त्यस्तै म्याग्दे–७ घुम्तीमा म्याग्दे र स्याङदे खोलाले त्यहाँका घरहरू डुबानमा परेका छन् भने एउटा मोटरेवल पुल जोखिममा छ । कज–वे बगाएको स्थानीयले बताएका छन् ।

त्यस्तै जिल्लाको भिमादबाट मालेवगरतर्फ जाने बुडुवा खोलामाथिको मोटरेबल पुल समेत जोखिममा रहेको छ । शुक्ल गण्डकी नगरपालिका ११ जरेबरमा बर खोलाले काठे पुल बगाएको छ ।

त्यसै गरी भिमाद नगरपालिका–८ जोड्ने उक्त पुल बगाएपछि खोला वारपार गर्न समस्या हुने भएको छ । खोलाले जरेबरको बस्तीतर्फ नदी कटान रोक्न हालिएको जाली ग्याबिन समेत बगाउँदा १० घर जोखिममा परेको स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै पृथ्वी राजमार्गसहित अन्य सडक समेत पहिरोले गर्दा अवरुद्ध भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

खोला र नदिमा पानीको बहाव बढेको छ । तनहुँको सेती, मादी, बुल्दी, चुदी लगायतमा पानी अहिलेसम्म कै उच्च भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button