तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४३ पुग्यो

तनहुँ । तनहुँमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । शुक्रवार तनहुँको घिरिङ गाउँपालिका तीन महिला र १४ पुरुष गरी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

भारतबाट फर्किएका उनीहरू सबै सिमाक्षेत्रबाट उद्धार गरिएका नागरिक हुनुहुन्छ ।

घिरिङ गाउँपालिकाको क्वारेनटाइनमा बस्दै आएका २७, २४, २९ वर्षीय ३ जना महिला र ४०, ३०, ३२, २७, ४५, ३०, २४, २२, २२, १९, २४, २०, ५०, २५ उमेर समूहका १४ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज शुक्रवार (असार ५ गते) सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

हिजो बिहीबार मात्रै तनहुँको शुक्ल गण्डकी नगरपालिकाका १८ वर्षीय एक पुरुष, भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्षीय गरी ४ जना पुरुषमा र ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्षीय गरी ७ जना पुरुष र व्यास नगरपालिकाका ४२, २९ र २५ वर्षीय गरी ३ जना पुरुष गरी तनहुँमा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रवार थपिएका १७ जनासहित तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ ।

यस्तै, जिल्लाका पहिलो सङ्क्रमित ऋषिङ गाउँपालिकाका २८ र ४० वर्षका दुई पुरुष भने निको भएर घर फर्किएका छन् ।

जिल्लामा बिहीबार पुष्टि भएका १५ जना सङ्क्रमितहरूलाई व्यास नगरपालिका र दमौली अस्पतालको समन्वयमा तयार गरिएको आइसोलेसनमा राखिएको छ ।

सङ्क्रमितहरूको स्वास्थ्य अवस्थामा सामान्य रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

त्यस्तै, यसभन्दा अगाडि पुष्टि भएका सङ्क्रमितहरूलाई शुक्ल गण्डकी नगरपालिकास्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ ।

यस केन्द्रमा राखिएका दुई जना पुरुष निको भएर घर फर्किसकेका छन् । हाल जीपीको आइसोलेसनमा नौ जनालाई रहेका छन् ।

तनहुँको कुन स्थानीय तहमा कति कोरोना सङ्क्रमित ?
गत जेठ १८ गते तनहुँमा पहिलो सङ्क्रमित भेटिएको थियो । यो १९ दिनको अवधिमा जिल्लामा सङ्क्रमितको सङ्ख्या ४३ जना पुगेको छ भने दुई जना पुरुष निको भएर घर फर्किएका छन् ।

हालसम्म जिल्लाको व्यास नगरपालिकामा तीन जना, ऋषिङ गाउँपालिकामा १० जना, भानु नगरपालिकामा चार जना, घिरिङ गाउँपालिकामा २३ जना, शुक्ल गण्डकी नगरपालिकामा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाभर आठ सय ४५ जना क्वारेनटाइनमा
तनहुँका १० वटै स्थानीय तहले तयार गरेका क्वारेनटाइनमा बिहीबारसम्म ७४ महिला र सात सय ७१ पुरुष गरी आठ सय ४५ जना बसेका छन् भने चैत्र महिना यता भारत लगायत अन्य मुलुकबाट एक सय ७७ जना महिला र एक हजार नौ सय ७९ जना पुरुष गरी दुई हजार एक सय ५६ जना नागरिक जिल्ला भित्रिएका छन् ।

त्यस्तै, जिल्लामा एक सय नौ महिला एक हजार २० जना पुरुष गरी एक हजार एक सय २९ जनाको थ्रोट स्वाब नमुना सङ्कलन गरी गरिएको पिसिआर परीक्षणमा ४० महिला र ५२६ जना पुरुष गरी पाँच सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

२६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका ५२७ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button