तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरपालिकाको राहत कोषमा प्याब्सनको पाँच लाख

चिप्लेढुङ्गा  । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख जिसीले सङ्कटका बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सराहनीय भएको बताउनुभयो । जिसीले आ–आफ्नै ढङ्गले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणालीमार्फत राहत वितरणको योजना बनाएको बताउनुभयो । कोषमा शुक्रबारसम्ममा रु १४ लाख २७ हजार ७६६ सङ्कलन भएको छ ।

कोरोना भाइरस सङ्क्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अतिविपन्न र जोखिममा परेका परिवारलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो । विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न महानगरपालिकाले सबैमा आह्वानसमेत गरेको छ । राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकमा कोषको नाममा रहेको खाता नं ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

सनराइज बैंकद्वारा ५० थान पिपीइ हस्तान्तरण
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लिमिटेड प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षा सामग्री ९पिपीइ० सहयोग गरेको छ । सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताउनुभयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी,  सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र  सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताउनुभयो । उहाँले अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोनाविरुद्ध लड्न सकिने बताउनुभयो ।

उहाँले सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको समेत जानकारी दिनुभयो ।
यो महामारीबाट आफ्नो सुरक्षाका साथसाथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न समेत मुख्यमन्त्री गुरुङले सबैलाई आग्रह गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालले यो समयमा स्वास्थ्यकर्मीका लागि पिपीइको सबैभन्दा ठूलो आवश्यकता रहेकाले दुई हप्तासम्म पिपीइको खोजी गरेर सहयोग गरेको बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button