तपाईँ सुन्दै हुनुहुन्छः

आयोजक रुपन्देही ११ लाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

रुपन्देही । शनिवारबाट बुटवलमा सुरु भएको तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम–११ ले विजयी सुरुवात गरेको छ ।

जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा शनिबारदेखि सुरु भएको २२ औँ संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी भएको हो । यो जितसँगै सुदूरपश्चिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा आयोजक रुपन्देही–११ सुदूरपश्चिमसँग ३–१ गोल अन्तरले पराजित भएको हो । सुदूरपश्चिमका लागि पहिलो गोल जर्सी नम्बर–११ का फागुराम थारुको खेलको ३१ औँ मिनेटमा गरेका हुन् । थारुले खेलमा दुई गरे । खेलको सुरुवातदेखि नै रुपन्देहीमाथि दबाब दिएको सुदूरपश्चिमका लागि पहिलो हाफको ३१ औँ मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले डि बक्स लाइनमा पाएको फ्री किकमा गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा रुपन्देहीले सान्त्वना गोल गरेको थियो । सुदूरपश्चिमको डी एरियाभित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् ।

प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।

आइतबारको खेल हिमालयन शेर्पा र थ्री स्टारबिच हुने छ । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउनेछन् भने उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button