तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन जगाउन सौराहामा माघ २९ देखि खाना महोत्सव 

चितवन । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहामा खाना महोत्सवको आयोजना गरिंँदैछ । हरेक बर्ष प्रणय दिवसको अवसर पारेर माघ २९ देखि फागुन २ सम्म फुड फेष्टिवल गर्न लागिएको  हो । सुस्ताएको पर्यटनलाई जगाउन र चलायमान बनाउन खाना महोत्सव गर्न लागिएको आयोजक संस्था रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान सौराहा( रेवान)ले जानकारी दिएको छ । 

हरेक बर्ष हुँदै आएको यो फेस्टिवल १७औँ संस्करण हो । रेवान सौराहाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिबलको बारे जानकारी दिएको हो ।

सो अवसरमा बोल्दै रेवान सौराहाका अध्यक्ष नरेश गिरीले सुस्ताएको पर्यटनलाई जगाउन एवं सौराहाको पर्यटन प्रवर्द्धन गर्न खाना महोत्सव गर्न लागिएको बताउनु भयो  । ‘एकातिर खाना महोत्सवले पर्यटन प्रवर्द्धन गर्न मदत पुग्नेछ, उहाँले भन्नुभयो, अर्कोतिर आर्थिक गतिविधि पनि चलायमान हुन्छ भन्ने विश्वास लिएका छौँ ।’ 

सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकहरूले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको फेस्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो  । ‘पर्यटकले सौराहामै प्रणय दिवस मनाउन पाउनेछन् गिरीले भन्नुभयो, फुड फेष्टिबलको मज्जा पनि लिन सक्नेछन् ।’

हात्ती चोक देखि गैंडाचोक सम्म डाली र लाइट राखेर सौराहालाई झिलिमिली बनाइएको छ । सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नाराका साथ हात्ती चोकदेखि ड्याक सम्म र मल्लुचोक देखि गैंडाचोक सम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने छन् ।

फेस्टिबलमा हरेक दिन हुने सडक फुड विभिन्न जातजातिहरूको झाँकीहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय कला संस्कृति, भेसभुसाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित उज्यालो सौराहालाई निरन्तरता, शैक्षिक विपन्न कोष मार्फत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरिने रेवान सौराहाका महासचिव सूर्यबहादुर रिमाले जानकारी दिनुभयो  ।

उहाँका अनुसार महोत्सवमा चितवनमा रहेका विभिन्न जातजाती, आमा समूह, भजन समूह लगायत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, सौराहा ड्याक सम्म हरेक दिन बेलुकी विभिन्न जातजातिहरूको कला तथा संस्कृति सहितको प्रदर्शनी गरिने छ ।  फुड फेस्टिबलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको  छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button