तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु मेरो मुख्य जिम्मेवारी हो : मन्त्री गिरी

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो मुख्य जिम्मेवारी भएको बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरीब जनतासम्म पुग्न नसकेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशमा अहिले स्वास्थ्य सेवा सीमान्तकृत जनतासँग, गरिब जनतासँग पुग्न सकेको छैन । स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न हामी एकताबद्ध भएर लाग्नुपर्छ ।’

अहिले पनि आर्थिक अभावका कारण उपचार नपाएर धेरै नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री गिरीले नीतिगत सुधार गरेर त्यस्तो अवस्था न्यूनीकरण गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संरचनागत सुधार र व्यवस्थापकीय सुधार गरेर अघि बढ्नेछौँ तर उपचार नपाएर अकालमा मर्नुपर्ने बाध्यता हुनुहुँदैन ।’

सरकारी अस्पतालका ल्याब चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै मन्त्री गिरीले यस्ता समस्या समाधान गरेर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने बताउनुभयो ।

उहाँले बजेट विनियोजित गरेर मन्त्रालय गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा लाग्ने पनि बताउनुभयो । मन्त्री गिरी स्वास्थ्य क्षेत्रमा रहेको जनशक्तिको अभावलाई चाँडै परिपूर्ति गर्ने योजना बनाएको पनि बताउनुभयो ।

अर्को प्रसङ्गमा मन्त्री गिरीले मङ्गलबार दिउँसो राजधानीमा गरिएको आत्मदाहको घटनाले सिङ्गो मुलुकको ध्यानाकर्षण भएको बताउनुभयो । अहिलेसम्म विकास बजेट १५ प्रतिशतभन्दा बढी खर्च नभएकोमा सरकारको ध्यानाकर्षण भएको बताउँदै उहाँले अब धमाधम विकास निर्माणका कामलाई गति दिइने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button