तपाईँ सुन्दै हुनुहुन्छः

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औँ संस्करण फागुनमा हुने

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९ औँ संस्करण फागुनमा हुने भएको छ ।

नेपाली खेलकुद पत्रकारहरूको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले सोमबार पत्रकार सम्मेलन गरी अवार्ड फागुन २३ गते हुने जनाएको छ ।

२०७८ सालभर नेपाली खेलकुदमा योगदान पुर्‍याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने अवार्ड कार्यक्रम काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने एनएसजेएफले जनाएको छ । यस पटकको पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने छ ।

त्यसमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ । मनोनयन नहुने विधाहरू लाइफटाइम, स्पेसल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ । यस पटक वर्षका युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ ।

अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button