तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा एक हजार नौ सय ४३ किलो फोहोर सङ्कलन गरेको हो । 

सङ्कलित फोहोर कुहिने र नकुहिने दुवै किसिमका छन् । सफा हिमाल अभियान जारी रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो  । उहाँले भन्नुभयो, “फोहोर सङ्कलनको काम भइरहेको छ, अहिले नेपाली सेनाले आधार शिविरमै बसेर सङ्कलन गरिरहेको छ, जल्ने खालको एकैचोटि नाम्चेमा ल्याएर नष्ट गर्ने र नजल्ने काठमाडौँ लैजाने योजना छ ।” 

हिमालमा मानवीय गतिविधिले फोहोर थुप्रिरहेकाले हिमालको स्वच्छता कायम गर्नमा अभियान सफल हुने उहाँको विश्वास छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय निकाय तथा बुद्धिजीवी, विभिन्न सङ्घसंस्थाका प्रमुख/प्रतिनिधिहरूको समन्वयमा सफा हिमाल अभियान टोलीले काम गरिरहेको छ । 

‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ । गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button