तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकाका अध्यक्षको पहिलो निर्णय : नागरिकको स्वास्थ्य बीमादेखि फ्री वाईफाईसम्म

जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष लक्ष्मण बहादुर शाहीले पदभार ग्रहण गर्नुहुँदै हिमाका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने लगायतका ६ वटा निर्णय गर्नुभएको छ । 

अध्यक्ष शाहीले आर्थिक अभावले उपचार नपाएर रोगसँग लडिरहेका जनताको राहत र बिमा पहुँचबाट छुटेकालाई बिमामा समेट्न पालिकाले प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय गरिएको बताउनुभयो । 

साथै नमुना परीक्षणका लागि भैरव आधारभूत विद्यालय हिमा ३ जोगिवाडामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने, हिमाका सम्पूर्ण वडा कार्यालय, सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था र प्रहरी चौकीहरूमा फ्री–वाई फाइ र सी.सी. क्यामरा जडान गरिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिकाको लागतले गर्न सक्ने र नागरिकले प्रत्यक्ष राहत पाउने कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ । ६० बर्ष माथिका ज्येष्ठ नागरिक, गर्भवती,सुत्केरी, गरिब, विपन्न, अपाङ्गता भएका तथा असहाय व्यक्तिहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने  छ । भने,हिमाका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरीको व्यवस्था गरिने छ ।”,उहाँले भन्नुभयो ।

सङ्घीयताको मर्म अनुसार जनतालाई स्थानीय सरकारको महसुस हुने गरी सेवा प्रवाह देखि नागरिकमैत्री तथा आवश्यकता मुखी योजना निर्माणमा जोड दिइने उहाँको भनाई छ । उहाँले आफ्नो कार्यकालमा थोरै निर्णय धेरै नतिजामुखी काममा गर्ने समेत प्रतिबद्धता समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button