तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा ६ वटा पालिकाको मत परिणाम सार्वजनिक

वीरगंज । पर्सामा आजबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन परिणाम आउने क्रम शुरु भएको छ । 

आज मात्रै पर्साको ५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

नेकपा एमालेका उम्मेदवार लाल बहादुर श्रेष्ठले ४ हजार ४९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपाध्यक्षमा गोकुली कुमारी रेग्मीले ४ हजार २ सय ५९ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीकी निरु तामाङ्गले ३ हजार ४३ मत प्राप्त गर्नु भएको छ । 

यसैगरी पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय जनता पार्टी (जसपा)बाट निर्वाचन लडेका बशिष्ट कुमार आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ४२ वर्षीय अजयकुमारलाई १०८ मत अन्तरले पराजित गर्नु भएको हो । 

बशिष्ट कुमारले ३ हजार ७१९ मत ल्याउनु भयो भने, अजयकुमारले ३ हजार ६०५ मत ल्याउनु भएको थियो । उपाध्यक्षमा भने नेपाली काँग्रेसकी राजमति बरैनी निर्वाचित हुनु भएको छ । उहाँले ३ हजार ९६१ मत ल्याउनु भएको छ । जनता समाजवादी पार्टी (जसपा) की सहानी खातुनले ३ हजार ८३४ मत ल्याएर दोस्रो हुनुभएको छ । 

पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका अनोज चौधरी विजयी हुनु भएको छ । 

नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष रामप्रित महतोलाई १ हजार २ सय ६१ मतको अन्तरले पराजित गर्दै चौधरी विजयी हुनु भएको हो ।

चौधरीले  ४ हजार ५ सय ६० मत प्राप्त गर्नुभएको छ भने महतोले ३ हजार २ सय ९९ मत प्राप्त गर्नुभएको छ । 

उपाध्यक्षमा पनि नेपाली काँग्रेसकी रेखा चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेबी थरुनीलाई १हजार ७ सय ४५ मतले पछि पार्दै विजयी हुनुभएको छ । 

यसैगरी पर्साको धोबिनी गाउँपालिकामा जसपाका मदन प्रसाद चौहान ३ हजार ९१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बशिष्ट नारायण कुर्मीलाई २० मतले पछि पार्दै चौहान विजयी हुनु भएको हो । कुर्मीले ३ हजार ७१ मत प्राप्त गर्नुभएको छ । 

गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु देवीले ३ हजार १ सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी जसपाकी प्रियंका देवीले २ हजार ५ सय ७७ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी पर्सागढी नगरपालिकामा पनि नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारहरूको विजय निश्चित भएको छ । एमालेका मेयर पदका उम्मेदवार गोकर्ण पाठक र उपमेयर पदका उम्मेदवार पूजा चौधरीको जित निश्चित भएको छ । 

दुवै जना २५ सय भन्दा बढी मत अन्तरले अग्रता लिएको अवस्थामा पर्सागढीमा ७ सय मत मात्रै गन्न बाँकी रहेको छ । 

त्यस्तै विन्दवासिनी गाउँपालिकामा लोसपाका उम्मेदवार प्रमोद तिवारी विजयी हुनु भएको छ । यसको आधिकारिक पुष्टि भने हुन बाँकी रहेको छ ।

पर्सामा आज ५ पालिकाको मतगणना सम्पन्न भएको र बाँकी ९ पालिकाको गणना जारी रहेको र आज अधिकांश पालिकाको नतिजा सार्वजनिक हुने पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button