मृतक परिवारलाई ६÷६ लाख दिने भएपछि सहमति
दिलीप खत्री, खोटाङ्ग । खोलामा डुबेर ज्यान गुमाएका विद्यार्थीका परिवारलाई दिक्तेल प्राविधिक शिक्षालयले ६÷६ लाख दिने भएपछि सहमती छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शिक्षालयका सञ्चालक सिताराम राईले मृतक परिवारलाई ५÷५ लाख राहत तथा १÷१ लाख किरिया खर्च दिने सहमती भएको हो ।
प्रतिमृतक परिवार ५० हजार तत्काल दिने र बाँकी रकम १५ दिनभित्र दिने सहमती भएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताउनुभयो । पूर्वसभाषद दुर्गाजयन्ती राई, जनप्रतिनिधि, दलका नेता लगायतको रोहबरमा दुई पक्षलाई सहमतीमा ल्याइएको हो ।
आफन्तले आईतबार दिउँदो क्षतीपूर्तिको माग गर्दै दिक्तेलबजारमा नारा जुलुस निकालेका थिए । चर्का नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालयबाट निस्केको नारा जुलुस रत्नपार्क पुगेर त्रिबेणीचोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । आईतबार बिहान जिल्ला प्रहरी कार्यालयमा भएको वार्ता असफल भएपछि बजारमा जुलुस निकालिएको थियो । वार्ताका माध्यमबाट सहमती जुटेपछि सोमबार मृतकको पोष्टमार्टम गर्ने तयारी गरिएको प्रजिअ उपाध्ययले बताए ।
छलफलमा नगरपालिकाले समेत मृतक विद्यार्थीको स्मृतिमा कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको एलिसका मामाले बताए । वडाका तर्फबाट पनि मृतक विद्यार्थीको नाममा सामाजिक काम गरिने वडाध्यक्ष डिल्ली राईले बताए ।
प्रतिक्रिया राख्नुहोस्