तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ समुदायमा खोप अभियान प्रभावकारी बनाउन छलफल

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले चेपाङ समुदायमा कोभिड विरुद्धको खोप अभियान प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको छ । 

मन्त्रालयमा शुक्रवार मकवानपुरका चेपाङहरूको बाहुल्यता रहेका क्षेत्रका प्रतिनिधिहरूसँग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गर्नुभएको हो । 

सो क्रममा मन्त्री लामाले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सहकार्यका लागि आग्रह गर्नुभएको छ । 

उहाँले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अत्यावश्यक रहेकोले खोप बारेको भ्रम हटाउन त्यस क्षेत्रका नागरिक समाज, जनप्रतिनिधि, सामाजिक अगुवा लगायतले अभियानको महत्त्वबारे प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश सरकार खोप लिएर समुदाय तहमै पुग्न तयार रहेकोले चेपाङ बाहुल्य क्षेत्रमा सबैको सहयोगमा लक्ष्यमा पुग्न सकिने समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ बाहुल्य क्षेत्रमा गाउँपालिका स्तरमा स्वास्थ्य शिविर गर्ने, चर्चमा खोप अभियान चलाउने, खोपको सकारात्मक पक्षबारे प्रचारप्रसारमा जोड दिने, विपन्न चेपाङ तामाङ र दलित बर्गलाई लक्षित गरेर सहयोग अभियानसहित खोप अभियान चलाउने जस्ता काम गरेर खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । 

यस्तै संविधानसभा सदस्य गोबिन्दराम चेपाङले त्यस क्षेत्रमा चेतनाको अभाव र खोपबारे नकारात्मक प्रचार रहेकाले यसलाई चिर्दै खोप लगाउने दरले बढाउन आफूहरूले सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

चेपाङ संघका केन्द्रीय सदस्य खेम चेपाङले खोप लगाउने दरलाई चेपाङ समुदायमा बढाउन आफूले संघका सबै जिल्लाका इकाईमार्फत सहजिकरण गर्ने बताउनुभयो । 

उहाँले विद्यालय, स्वास्थ्य इकाई, वडा कार्यालय, चर्च जस्ता स्थानमा अभियान चलाउनुपर्नेमा दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button