तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुबाट उपसभापति सहित चार जना केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

सोलुखुम्बु । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सोलुखुम्बुबाट केन्द्रिय कार्य समितिको उपसभापतिमा बलबहादुर केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान केन्द्रिय सदस्य समेत रहनुभएका केसीले आफ्नो ५१ वर्षका राजनीतिक यात्रामा पहिलो पटक पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । 

२०२७ सालमा ताहाचल क्याम्पसको स्ववियू सभापतिदेखि हालसम्म पार्टीको विभिन्न भूमिकामा रहनुभएका केसी ६ पटक सोलुखुम्बुबाट सांसदको टिकट पाएर चार पटक विजय हुनुभएको छ । पटक पटक मन्त्री हुनुभएका केसी काँग्रेसको सिनियर नेतामा पर्नुहुन्छ । उहाँ संस्थापन इतर समूहमा हुनुहुन्छ । 

त्यस्तै, वैचारिक युवा नेता आङगेलु शेर्पाले आसन्न केन्द्रिय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भइसक्नुभएका नेता शेर्पाले पार्टी सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो । 

लोकतान्त्रिक आन्दोलनको २०३१ साल पुस १ गतेको चर्चित टिमुरबोटे काण्डका ज्युँदा सहिद प्रभुराम बस्नेतले पनि केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ । यज्ञबहादुर थापाको कमान्डमा गठित सशस्त्र विद्रोही समूहमा रहेका बेला १३ जना कमान्डरहरू मारिएकोमा बस्नेतसहित केही नेता बाँच्न सफल भएका थिए । यसअघि १८ वर्ष जिल्ला सभापतिको नेतृत्व गर्नुभएका बस्नेत सात वर्ष जेल बस्नुभएको थियो ।

त्यस्तै, सोलुखुम्बुबाट नै जनजातितर्फ कुशराज राई र दलिततर्फ धर्मबहादुर परियारले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button